तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको विद्युतीय फोहोर व्यवस्थापनमा इजरायली राजदूतको सक्रियता 

 काठमाडौं । नेपालका लागि इजरायली राजदूत खनान गोदेर यत्तिखेर काठमाडौंका विभिन्न विद्यालयहरूमा पुराना ब्याट्री सङ्कलन अभियानमा व्यस्त हुनुहुन्छ ।
राजदूत गोदेर नेपालमा विद्युतीय उपकरणजन्य फोहोरको व्यवस्थापन नभएकोमा चिन्तित हुनुहुन्छ ।
पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै , विद्युतीय उपकरणको उत्पादन र खपत अत्यधिक बढे पनि विद्युतीय फोहोर “इ वेस्ट” काे व्यवस्थापन कठिन र चुनौतीपूर्ण बन्दै गइरहेको राजदूत गोदेरको बुझाई छ।
 यसलाई मध्यनजर राख्दै आफूले काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरूमा गई त्यहाँका विद्यार्थीलाई प्रयोग गरेर फ्याँकिएका ड्राई सेल ब्याट्रीले माटो,  पर्यावरण र मानव स्वास्थ्यमा पार्ने प्रतिकूल असर बारे बुझाई रहेको उहाँ बताउनुहुन्छ ।
 “यदि हामीले प्रयोग गरिएको ब्याट्री खुलारुपमा बाहिर फ्याँक्यौँ भने, यसले माटोमा बस्ने स–साना जीवहरूका लागि धेरै नै हानी पुर्‍याउँछ,त्यसैले यसको उचित व्यवस्थापन आवश्यक छ,” विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै राजदूत गोदेरले बताउनु भयो।
 राजदूत गोदेरले काठमाडौं प्रज्ञा कुञ्ज विद्यालय, शान्ति शिक्षा माध्यमिक विद्यालय, काठमाडौं मोडेल कलेज र काभ्या स्कुलका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई खाली पानीको जारमा प्रयोग गरिसकिएका ब्याट्री जम्मा गर्न अनुरोध गर्नुभयो।
 प्रयोग भइसकेका ब्याट्रीहरू जथाभाबी नफाल्न राजदूत गोदेरले आग्रह गर्नुभयो ।
 अहिले नेपालमा इजरायली दूतावासको पहलमा प्रयोग भइसकेका ब्याट्री सङ्कलन गर्ने अभियान सञ्चालन भइरहेको छ।
दूतावासका अनुसार प्रयोग भएका उक्त ब्याट्रीहरू सुरक्षित व्यवस्थापनका लागि काठमाडौंको एक प्रशोधन कम्पनीलाई हस्तान्तरण गरिनेछ।
‘इजरायल विद्युतीय उपकरणको ठुलो उत्पादक र उपभोक्ता हो। हामी एउटा सानो देश हौँ तर हाम्रो जनसंख्या ठुलै छ । हामीले विद्युतीय फोहोरबाट हाम्रो माटोलाई दूषित हुन दिन सक्दैनौँ, त्यसैले हाम्रो लागि ई वेस्टको उचित व्यवस्थापन जीवन र मृत्युको सवाल हो’ राजदूत गोदेरले बताउनु भयो ।
 राजदूत गोदेरले इजरायलले पर्याणको सम्बर्द्धन र संरक्षणका लागी नेपाललाई सधैँ सहयोग गर्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button