तपाईँ सुन्दै हुनुहुन्छः

अव्यवस्थित संरचनाले कुरूप बन्दै प्रसिद्ध चन्दननाथ मन्दिर 

जुम्ला । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर पछिल्लो समय कुरूप बन्दै गएको छ । मन्दिर आसपासका क्षेत्रमा सरकारी तथा निजी प्रयोजनका लागि निर्माण गरिएका अव्यवस्थित भौतिक संरचनाले प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर कुरूप बन्दै गएको हो ।
मन्दिर संरक्षण तथा प्रवर्द्धनका लागि अहिले सम्म गुरुयोजना निर्माण गर्न नसक्दा अहिले मनपरी रुपमा मन्दिर वरिपरि संरचना निर्माण हुन थालेका छन् । जसले गर्दा मन्दिरको शोभा नै हराएको छ । पहिला चारैतिरबाट देखिने मन्दिर आजभोलि भवन छोपिएको छ ।
मन्दिरको पश्चिममा जिल्ला प्रशासनको नयाँ तथा पुरानो भवन तथा होटल, उत्तरमा बन्न लागेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले भवन, तथा अदालतको भवन, दक्षिणतिर निर्माण भएका निजी ठुला भवनले गर्दा चारैतिरबाट मन्दिर पुरै छोपिएको छ ।
मन्दिर वरिपरि भवन निर्माण गर्नु अघि व्यक्ति तथा कार्यालयहरूले गुठी समितिसँग कुनै समन्वय नगरेको चन्दननाथ गुठी समितिले बताएको छ । एक्कासि पाँच तला बन्ने भन्दै तीन तलाको काम शुरु भएपछि मात्र थाहा भयो । गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भने, “यो भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो, सुन्दरता हरायो, यो राम्रो भएन ।”
मन्दिर वरिपरिको घर एक तले मात्रै लगाउने परम्परागत चलन थियो । समय क्रम सँगै दुई तलासम्म लगाउने कार्यको थालनी भयो । अध्यक्ष रोकायाले भन्नुभयो, “अहिले त व्यक्तिगत र सरकारी भवनले मन्दिर नै ढाक्न थालिसके । मन्दिरमा खडा हुने ५२ हाते लिङ्गा भन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्कटमा पर्न सक्ने देखिन्छ ।”
मुगु रारा ताल हुँदै जुम्ला चन्दननाथ घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा मन्दिर नै छोपिएपछि गुरुयोजना अनुसार काम गर्नुपर्ने पर्यटकले सुझाव दिएका छन् । पुरातत्त्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्त्वका बारेमा बोध गर्न नसकेको स्थानीय बताउँछन् । पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौट बाहेक कालो पत्रे नगर्ने भनिएको थियो । तर अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्रे भइसकेको छ । चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्व अध्यक्ष गौरीनन्द आचार्यले बताउनुभयो ।
चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले तत्काल मन्दिरको गुरुयोजना निर्माण गर्नु पर्ने बताउनुभयो ।
संस्कृति सम्बन्धी जानकार पूर्णसिंह कठायत भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनु पर्ने बताउँछन् । उहाँले भन्नुभयो,“मन्दिर सबैको आस्थाको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ । यो पहिचान मेटिन हुँदैन ।” यो विषयमा पुरातत्त्व विभाग र गुठी समिति केन्द्रीय कार्यालय नै जिम्मेवार हुनु पर्ने जुम्लावासी बताउँछन् ।
नेपालको भाषा संस्कृतिको उद्गम स्थल जुम्ला हो । धार्मिक धरोहरका रुपमा रहेको चन्दननाथ मन्दिर हो । प्राचिन कालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ । भूकम्प, दैवी प्रकोप भएको खण्डमा भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति हुन जान्छ । यो भवन तीन तलाभन्दा माथि बनाउन मिल्दैन । गुठी समितिका अध्यक्ष रोकायाले भने,‘सबै सरोकारवाला मिलेर भवन तीन तलामै रोकिदिन आग्रह गरेका छौँ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button