तपाईँ सुन्दै हुनुहुन्छः

‘नयाँ बर्ष सुख र समृद्धिको बर्ष बन्ने सरकारको अपेक्षा’

file photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नयाँ बर्ष सुख र समृद्धिको बर्ष बन्ने सरकारको अपेक्षा रहेको बताउनुभएको छ ।

नयाँ बर्ष २०७८ को आगमनका सन्दर्भमा आज मन्त्रालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चार मन्त्री गुरुङले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई मुलमन्त्रका रुपमा लिएर काम गर्न नयाँ वर्षले सबैमा ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभयो ।

सञ्चार मन्त्री गुरुङले विगतका राम्रा कुरालाई अगाडी बढाउँदै राज्यलाई हरेक क्षेत्रमा बलियो बनाउनु जरुरी रहेको बताउनुभयो ।

छिमेकी देश चीन, भारत लगायत अन्य कैयन मुलुकमा जनता कमजोर रहे पनि राज्य बलियो रहेको सन्दर्भ उल्लेख गर्दै सञ्चार मन्त्री गुरुङले नेपालमा जनता बलियो तर राज्य कमजोर रहेकाले नयाँ वर्षमा सबै एकताबद्ध भएर राज्यलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले २०७७ सालमा कोभिडको मार खेप्नुपरेको र हालसम्म त्यसबाट मुलुकले छुटकारा पाउन नसकेकाले नयाँ वर्षमा यसबाट देशमा धेरै प्रभाव पर्न नदिन सबैको सहकार्य र सहभागिता आवश्यक रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सूचना प्रविधिको क्षेत्रमा आमूल फड्को मार्दै नयाँ वर्षमा नयाँ अनुभूति दिने गरी सम्बद्ध सबै पक्षले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार सम्बद्ध विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले नयाँ वर्षमा नयाँ जोश र उमंगका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने तर्फ लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button