तपाईँ सुन्दै हुनुहुन्छः

६ महिना पछि प्रदेश २ मा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नंं २ मा तीन जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारणले पर्साका २ र बाराका १ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
करिब ६ महिनापछि कोरोनाका कारणले प्रदेश नंं २ मा तीन जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिनु भयो । मृत्यु हुनेहरूमा पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नंं ३ का वर्ष ६२ का पुरुष तथा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नंं ९ छाता पिपराका वर्ष ३७ को पुरुष रहेका छन् ।
दुवै जनाको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिनु भयो । दुवै जनामा रुघा खोकी तथा ज्वरोको समस्या रहेको थियो ।
यसै गरी पर्सा जिल्लाको कालिका गाउँपालिका वडा नंं ३ का वर्ष ५५ का पुरुषको पनि कोरोना सङ्क्रमणका कारणले नै चितवन जिल्लाको भरतपुर अस्पतालमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनलाई ज्वरो सहितका समस्या आएपछि भरतपुर अस्पतालमा भर्ना भएका थिए ।
कोरोनाका कारणले पछिल्लो पटक मृत्यु भएका तीन जना सँगै मृत्यु हुनेको सङ्ख्या १ सय १२ पुगेको छ । हालसम्म मृत्यु हुनेमा सप्तरीमा ४१ जना, सिरहामा २५, धनुषामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १०, बारामा २५ र पर्सा जिल्लामा ५३ र १ जना भारतीय नागरिक रहेका छन् ।
यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा आज २६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जस अनुसार धनुषाका ४, महोत्तरीका १ तथा सिरहा जिल्लाका ७ जना रहेका छन् । यसै गरी नारायणी अस्पतालमा रहेको प्रयोगशालामा ९५ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अहिले प्रदेश नंं २ को विभिन्न जिल्लामा ३२ महिला र १ सय ३० पुरुष गरेर १ सय ९२ जना कोरोनाका सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button