तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा महिला हिंसा बढेपछि आयोगले प्रदेश कार्यालय खोल्ने

जनकपुरधाम । प्रदेश नंं २ मा महिला हिंसाको घटनामा वृद्धि भएकाले राष्ट्रिय महिला आयोगले चाडै आयोगको प्रादेशिक कार्यालय खोल्ने भएको छ ।
आयोगद्वारा आज जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिला हिंसाप्रति राष्ट्रपति विद्यादेवी भण्डारी पनि गंभिर रहनु भएको र यसको प्रभावकारी नियन्त्रणका लागि निर्देशन दिनुभएकाले आयोगले पहिलो चरणमा नै आयोगको कार्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो ।
संविधानले नै महिला आयोगको व्यवस्था गरेको चर्चा गर्दै आयोगका सदस्य सिन्हाले महिला हिंसाको नियन्त्रण, रोकथाम तथा महिला सशक्तीकरणका क्षेत्रमा कार्यक्रमहरू आयोगले गर्ने बताउनुभयो । खास गरेर प्रदेश नंं २ मा महिलाको शिक्षाको अवस्था कमजोर रहेको कारणले नै महिलाहरू हिंसाको शिकारमा पर्ने गरेको महिला आयोगका सदस्य सिन्हाले तर्क दिनुभयो ।
आयोगले हालसम्म गरेको कामकाजका बारेमा जानकारी दिँदै हिंसामा परेका महिलाहरूको कानुनी उपचार, परिपूरण तथा दोषी माथि कडा कारबाहीका लागि कामकाज गरेको बताउँदै अहिले पनि जनशक्ति तथा श्रोत साधनको अभाव आयोगमा भएको बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रदेश नंं २ मा महिलाहरु अशिक्षित रहेका कारणले नै बोक्सी सहितका हिंसामा पर्ने गरेको बताउँदै कतिपय महिलाहरू नागरिकता पाउनका लागि योग्य हुँदा हुँदै पनि वञ्चित हुनु परेको बताउँदै यसका कारणले महिलाहरू राज्यको सेवा तथा सुविधा पाउन नसकेको  ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश नंं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सत्ता र स्वामित्वमा महिलाको समान सहभागिता विना महिला हिंसा रोक्न कठिन हुने बताउँदै प्रदेश नंं २ का सरकारले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरणका थुप्रै कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
उहाँले त्यसका लागि बेटी पढाऊँ बेटी बचाऊँ, छोरी बिमा कार्यक्रम, छात्रालाई साइकल वितरण तथा सरकारी नोकरीमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनु भयो । कार्यक्रममा प्रदेश नंं २ का विभिन्न मन्त्रालयका महिलाको क्षेत्रमा काम गर्ने अधिकारीहरू, स्थानीय तहमा कार्यरत रहेका सम्पर्क व्यक्तिहरू, महिला अधिकारकर्मीहरू सहभागी रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button