तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथासहितका छ हिमाल सफाइ अभियानको शुभारम्भ

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न छ हिमाल सफाइ अभियानअन्तर्गत ‘सफा हिमाल अभियान–२०२१’ को अभियानमा खटिने टोलीलाई ब्यानर हस्तान्तरण गरी शुभारम्भ गरिएको छ ।

अभियानको नेतृत्व गर्ने नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रमबीच सफा हिमाल अभियानमा खटिने विभिन्न पाँच टोलीलाई अभियानको ब्यानर हस्तान्तर गर्नुभयो । ‘सफा हिमाल अभियान’ कार्यक्रमको निरन्तरता स्वरुप प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सगरमाथासहित अन्य पाँच हिमाल ९लोहत्से, मकालु, धौलागिरि, पुमरी र आमादब्लम० को सफाइ गर्ने उद्देश्यका साथ हिमाल सफाइमा जाने टोलीलाई बिदाइ गरिएको हो । वैशाख २ गतेबाट शुरु हुने अभियानमा प्रत्येक हिमाल सफाइमा सेनानी तथा सहसेनानीको नेतृत्वमा जनशक्ति परिचालन हुनेछ ।

सरकारको राष्ट्रिय अभियान तथा ‘श्री प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन–२०७५’ मा उल्लेख भएबमोजिम हिमाल सफाइ कार्यक्रमको निरन्तरता दिइएको हो । ‘सेफ द हिमाल फर द फिउचर’ भन्ने नाराका साथ सञ्चालन हुने अभियानबाट ३५ टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिनेछ । जसमध्ये सगरमाथाको आधार शिविरमाथिबाट मात्रै १८ टन फोहर उठाइने लक्ष्य लिइएको छ । यसरी सङ्कलित फोहर हवाई उडान तथा सडक यातायातबाट काठमाडौँ ल्याइनेछ । सो अवसरमा प्रधानसेनापति थापाले सरकारको राष्ट्रिय अभियान तथा नेपाली सेनाले उच्च महत्व दिँदै आएको प्रकृति तथा पर्यावरण संरक्षणअन्तर्गत सगरमाथासहित हिमाल सफाइ अभियान शुरु गरिएको र यो अभियानले आगामी दिनमा हिमाली क्षेत्रमा फोहर नगर्ने सचेतना फैलाउन र वातावरण प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली सेनाले राष्ट्र र नागरिकप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने क्रममाः विगत लामो समयदेखि उच्च हिमाली भेगमा राष्ट्रहित र जनआकांक्षाअनुरूप विभिन्न गतिविधि सञ्चालन गर्दै आएकामा सन् २०१४ मा हिमाल पारिका जिल्लामा हुटहुट आँधीको विपत्तिको दौरान तथा सन् २०१५ को भूकम्पका कारण विभिन्न हिम पहिरोमा फसेका पर्वतारोहीलाई सकुशल उद्धार गर्ने कार्यमा सेनाले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको स्मरण गराउनुभयो ।

सेनाले हिमाली क्षेत्रको जस्तोसुकै भौगोलिक विकटता, कठोर मौसमी अवस्था तथा जटिल परिस्थितिमा पनि खोज तथा उद्धारको कार्य गरी आफ्नो कौशलता प्रदान गर्नेक्रममा सयौैँ व्यक्तिको उद्धार तथा शवको व्यवस्थापन गर्न सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले अभियानबाट मनोरम हिमशृङ्खलाको संरक्षणका साथै वातावरण प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएकाले अभियानको सान्दर्भिकता बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानसेनापति थापाले जटिल तथा साहसिक अभियानमार्फत विश्व समुदायले अत्यन्तै चासोका रुपमा हेरिरहेको हिमाली भेगको फोहर व्यवस्थापनमा नेपालले लिएको अग्रसरताले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले हिमाल मुलुकको पर्यटनको प्रमुख आधार तथा ‘माउन्टेन इकोनोमी’ को प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले जलवायु परिर्वतनको जोखिम कम गर्न र सफा र सुन्दर हिमाल नयाँ सन्ततिका लागि हस्तान्तरण गर्न यस अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले हिमाल सफाइ अभियानलाई आगामी वर्षमा पनि निरन्तरता दिन मन्त्रालयले सरकारको नीति तथा कार्यक्रम र आगामी आवको बजेटमा समेट्ने गरी मन्त्रालयले पहल गरिरहेको पनि जानकारी दिनुभयो ।

वातावरण प्रदूषण नियन्त्रण तथा दक्षिण एशियाकै पानीको मुहानका रूपमा रहेको हिमशृङ्खलाको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न अभियानले सहयोग पुग्ने जनाइएको छ । हिमाल तथा हिमाली क्षेत्रमा फोहर सफाइ गरिनुका साथै फोहरै हुन नदिने गरी सचेता अभियान पनि सञ्चालन गरिने अयोजकको भनाइ छ । यस अभियानले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका साथै वातावरणीय सन्तुलन कायम गर्दै दिगो पर्यावरणमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

सफा हिमाल अभियानका संयोजक सेनानी आदित्य कार्कीले छ हिमाल सफाइका लागि १२७ जनाको तालीम प्राप्त जनशक्ति तयार गरिएको छ । जसमध्ये ८४ जना सफाइमा खटिने छन् । यसमा सेनाका ४३ र शेर्पा समुदायका ६५ सहभागी हुनेछन् । उहाँका अनुसार नेपाली सेनाको अधिकतम स्रोत साधनको सदुपयोग तथा दर्जन बढी सरकारी, निजी तथा गैरसरकारी संस्थाको सहयोगमा अभियान सञ्चालन गरिनेछ । यो अभियानका लागि रु १२ करोड ५५ लाख ७१ हजार खर्च हुने जनाइएको छ ।

नेपाली सेनाको संयोजन तथा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वातावरण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलगायत विभिन्न निजी सङ्घ संस्था र गैरसरकारी संस्थाको सहयोगमा सफाइ अभियान सञ्चालन गरिएको हो । अघिल्लो पटक विसं २०७६ वैशाख १ देखि २२ सम्म सगरमाथाको सफाइ गरी करिब १० टन फोहर तथा चार शव व्यवस्थापन गरिएको थियो । विसं २०७७ मा पनि सफाइ अभियानको तयारी गरिएकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।

राष्ट्रिय अभियानको रुपमा सम्बद्ध सबै निकाय तथा सङ्घ संस्थालाई समेटेर सबैको संयुक्त प्रयास तथा पहलताबाट नेपालको गहनाका रुपमा रहेका मुख्य हिमालको सफाइ गर्नेजस्तो पवित्र कार्यलाई सफलतापूर्वक सञ्चालन गरी कोभिड–१९ महामारीको कारण शिथिल भएको नेपालको पर्वतारोहण तथा समग्र पर्यटन व्यवसायलाई उकास्न सफल हुने नेपाली सेनाले विश्वास लिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button