तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको अर्को कहर : झापाका सीमामा फेरी कडाइ, होल्डिङ सेन्टर ब्युँताइँदै

भद्रपुर, झापा ।  कोरोनाको सङ्क्रमण बढ्न थालेपछि झापाको सीमा नाकामा गत वर्षमा झैँ कडा निगरानी सुरु भएको छ ।
झापा जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलवार भद्रपुरमा बसेको बैठकले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर ब्युँताउने र भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट परिचालन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सानुराम भट्टराई, जिल्ला अनुसन्धान कार्यालयका निर्देशक तिलक शर्मा प्रसाईँ, नेपाली सेनाको नयाँ श्रीनाथ गणका सेनानी आकृति घिमिरे, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेल, मेची अस्पतालका मेसु डा.पीताम्बर ठाकुर, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति लोकराज ढकाल र जिल्ला समन्वय समितिका प्रतिनिधि भानुभक्त भट्टराईको उपस्थिति थियो ।
छिमेकी भारतमा कोरोना सङ्क्रमण दर केही समययता डरलाग्दो रुपमा बढिरहेको कारण सीमामा कडाइ गर्न आवश्यक रहेकोले सीमा कडाइ गर्ने निर्णय गरिएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।
भारत ओहोरदोहोर गर्नेहरूबाट विगतमा कोरोना धेरै फैलिएको हुँदा यसपालि त्यस्तै नहोस् भनेर बेलैमा सतर्कता अपनाउनुपर्ने विषयमा बैठकका सहभागीहरूले समान धारणा राख्नुभएको थियो ।
बैठकले काँकडभिट्टाको सिमानाकामै रहेको होल्डिङ सेन्टरलाई तीन वटा चेम्बरमा थप व्यवस्थित गर्ने र त्यहाँ खानेपानी एवम् वास रुमको सुविधा तत्काल पुर्‍याउने निर्णय गरेको छ ।
बाहुन डाँगीको तिरिङदेखि गौरीगञ्जसम्मको १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमामा सशस्त्र प्रहरी बलको १८ वटा बीओपी र नेपाल प्रहरीका युनिटहरूलाई परिचालन गर्ने बैठकले निर्णय गरेको छ ।
गत वर्ष चैत ११ गते लकडाउन सुरु भएपछि नाकामा यसरी नै कडा निगरानी गरिएको थियो । यस पटक लकडाउन भने गरिएको छैन ।
बैठकले १५ वटै पालिकाहरूलाई जनचेतना जगाउने प्रचारप्रसार अभियान चलाउन, भिडभाड हुन नदिन, क्वारेनटाइन र आइसोलेसन बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
अति आवश्यक काम नभई सीमामा आवतजावत नगर्न, सीमामा एन्टिजेन टेस्टबाट पोजेटिभ देखिए तत्काल त्यस्ता बिरामीलाई सम्बन्धित पालिकामा पुर्‍याउने प्रबन्ध मिलाउन, नागरिकले घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन, जिल्ला प्रहरी र बिर्तामोड इप्रकामा एक–एक वटा एम्बुलेन्स तयार राख्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button