तपाईँ सुन्दै हुनुहुन्छः

८ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा ८ लाख नगदसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ४८ वर्षीय जोखन साह फकिरलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित बाबा होटेल अगाडि सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ८ लाख रुपैयाँसहित फकिरलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार गए राति करिब २ बजेको समयमा साइकलमा चढी हिँडिरहेको अवस्थामा निजलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणको रकमसहित नियन्त्रणमा लिइएको थियो ।
बरामद गरिएको नगदसहित फकिरलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको र उनलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button