तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रौटा–कृष्ण नगर सडक निर्माण : दुई वर्षमा ३६ प्रतिशत काम सकियो

कपिलवस्तु । चन्द्रौटा–कृष्ण नगर चार लेन सडक निर्माणको काम तोकिएको समयमा नसकिने निश्चित भएको छ ।
निर्माण सुरु भएको दुई वर्षमा ३६ प्रतिशत मात्र काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । सुरुमा तीव्र गतिमा काम भए पनि कोरोनाका कारण हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडकको काम सम्पन्न नहुने भएको छ ।
दुई वर्षमा २० प्रतिशत रकम खर्च भएको निर्माण कम्पनीले जनाएको छ । चन्द्रौटादेखि कृष्ण नगरसम्म यो सडक खण्ड २० किलोमिटर हो ।
दुई लेनको यस सडकमा २१ मिटर चौडाइमा चार लेन सडक निर्माण गरिने निर्माण कम्पनीका प्रमुख नवीन गुरुङले जानकारी दिनुभयो ।
रुख कटान, विद्युत्को खम्बा सार्ने, खानेपानीको पाइप व्यवस्थापन ,कोरोना महामारी लगायतको कारणले केही ढिलाइ भएको सडक सुधार विकास आयोजना लमहीका आयोजना प्रमुख पारस हमालले बताउनुभयो ।
उहाँले जटिल काम सम्पन्न भइसकेकाले बाँकी एक वर्षमा चार लेन सडक काम सम्पन्न गर्न सकिने बताउनुभयो । कोरोनाका कारण ६ महिना र रुख तथा विद्युत् पोल सार्न ६ महिना गरी एक वर्ष समय थप भएको उहाँले बताउनुभयो ।
अव एक वर्ष समय छ,यो समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने हुन्छ,हमालले भन्नुभयो अब थप समय माग्ने कुनै आधार छैन ,अब एक वर्षमा काम नसकिएको खण्डमा पेनाल्टीमा काम गर्नुपर्ने हुन्छ ।
यो सडकमा ३५ वटा कल्भर्ड निर्माण भइसकेका छन् । सडकभित्र पर्ने ५ सय १६ रुख काटिएको छ भने विद्युत्को खम्बा सार्ने काम भइरहेको छ ।
गत चैतदेखि करिब ६ महिनासम्म कोरोनाका कारणले कुनै पनि काम हुन नसक्दा तोकिएको समयमा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीका प्रमुख गुरुङले बताउनुभयो । माटो फिलिङ ९० प्रतिशत, ग्राभेल ५० प्रतिशत, कल्भर्ट निर्माण ९५ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो ।
सडक सुधार विकास आयोजना र एक्जिम बैंकबीच सडक निर्माणका लागि भएको सम्झौताअनुसार यो सडक निर्माण हुन लागेको हो । सम्झौतापछि यो सडक खण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपालको कन्स्ट्रक्सन हो भने दिनेश जेभी भारतीय हो । सडक निर्माणमा प्रयोग हुने ५१ प्रतिशत सामग्री भारतमा उत्पादन भएको हुनुपर्ने छ  ।
भारतीय सहयोग रहेकाले रकम निकासामा झन्झटिलो  हुँदा पनि तीव्र रुपमा काम गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ । भारतीय सीमासँग जोडिएको सडक चार लेन निर्माणसँगै दुई देशीय आयात निर्यातमा सहज हुने विश्वास छ ।
चन्द्रौटा कृष्ण नगर सडक खण्डमा ग्राभेल र  पिच गर्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । रु ७५ करोड बजेटमा निर्माण हुन लागेको चार लेन सडक निर्माणमा दुई समय भन्दा बढीले रोजगारी पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button