तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका होटलमा आन्तरिक पर्यटकको घुइँचो, व्यवसायी उत्साहित 

सबैभन्दा बढी पर्यटक आउने जुम्लाको होटल दौँतरी, तस्बिरः सागर परियार 
जुम्ला । मुगुको रारा ताल हुँदै जुम्ला घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि हुन थालेपछि जुम्लाका होटल व्यवसायी उत्साहित भएका छन् ।  चैत महिना लागेसँगै रारा ताल हुँदै जुम्ला आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।
कोभिडका कारणले करिब ९/१० महिना पूर्ण रुपमा बन्द रहेको होटल व्यवसाय पर्यटकको चहलपहल बढेपछि पुरानै लयमा फर्किएको छ । जुम्लामा रहेका करिब तीन दर्जन बढी साना ठुला होटल आजभोलि आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् ।
यहाँका दौँतरी, कान्जिरोवा, भ्याली भ्यु, पौवा, अम्मर सन्देश, मानसरोवर, स्नोल्याण्ड, अम्मर सन्देश लगायतका दर्जनौँ नाम चलेका जुम्लाका होटलमा दैनिक २ सय भन्दा बढी  पर्यटकको घुइँचो लाग्ने गरेको पाइएको छ । जुम्लामा साना ठुला होटलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले खलङ्गामा पर्यटकीय चहल पहल पनि बढेको छ ।
कोरोनाले थलिएको होटल व्यवसायीको अर्थतन्त्रलाई उकास्न पर्यटकको बढ्दो आगमनले इट्टा थपेको व्यवसायीहरू बताउँछन् । कान्जिरोवा होटलका सञ्चालक तथा पर्यटन व्यवसायी नोर्बु लामाले जुम्लामा पछिल्लो समय अत्यधिक मात्रामा आन्तरिक पर्यटक आइरहेको बताउनुभयो । उहाँले करिब ९/१० महिना बन्द होटल व्यवसाय पुरानै लयमा फर्किन थालेको र सरकारले मिनाहा नगरे पनि पर्यटक बढ्न थालेपछि बैक तथा सहकारीको ऋण तिर्न सहज हुने आशा जगाएको बताउनुभयो ।
कान्जिरोवा होटलमा कोठा अग्रिम बुकिङ गरेर दैनिक करिब २० देखि ३० जना सम्म आन्तरिक पर्यटक आउने गरेको व्यवसायी लामाले उल्लेख गरे । साथै उनले करिब ४ सय जना भन्दा बढी अटाउने क्षमताको पार्टी प्यालेस निर्माणको तयारी भइरहेको उल्लेख  गर्नुभयो । अबको दुई महिनामै जुम्लाकै सुविधा सम्पन्न पार्टी प्यालेस निर्माण गर्ने तयारीमा जुटेको उहाँको भनाई छ ।
त्यस्तै जुम्लाको प्रख्यात दौँतरी होटलमा पनि सबैभन्दा बढी पर्यटकको घुइँचो लाग्ने गरेको पाइएको छ । कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन जुम्लामा ह्वात्तै बढेपछि होटल व्यवसायी उत्साहित भएका हुन् । दौँतरी होलटका सञ्चालक पदम बहादुर महतले भन्नुभयो, “पर्यटक बढ्न थालेपछि होटल व्यवसायले गति लिएको छ । विदेशी भन्दा आन्तरिक पर्यटक नै बढी आउँछन् । कोरोनाले गुमेको आम्दानी पूर्ति हुने आशामा छौ ।”
जिल्लाकै सबैभन्दा बढी पर्यटक दौँतरी होटलमा आउने समेत आकलन गरिएको छ । तर पार्किङको समस्या रहेकोले दर्जनौँ गाडी अटाउने खालको व्यवस्थित पार्किङ बनाउने तयारीमा दौँतरी होटल जुटेको छ । एक दिनमा करिब ३५ देखि ४० जना भन्दा बढी पाहुना आउने गरेको होटल सञ्चालक महतले जानकारी दिए । अधिकांश समय होटल भरिभराउ हुने भएकोले पछि आउने पर्यटकले कोठा पाउन समेत मुस्किल हुने अवस्था छ । तर पनि दौँतरी होटलले भने पर्यटकको चाहाना अनुसार बस्ने, खाने प्रबन्ध मिलाउँदै आएको छ ।
जुम्लालाई आर्थिक रुपमा सक्षम बनाउन होटल व्यवसायलाई प्रवर्द्धन तथा लगानी गर्नु पर्ने र होटल व्यवसायीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने होटल सञ्चालक पदम महतको भनाई छ । अहिले आन्तरिक पर्यटक धेरै आएको र कोरोना त्रास नघटे सम्म विदेशी पर्यटक आउने स्थिति नरहेको समेत बताउनुभयो ।
रारा पुगेको पर्यटक जुम्ला हेर्न र अर्ग्यानिक खाना खान अनिवार्य जुम्ला पुग्ने गरेका छन् । जुम्ला,उर्थु, पटमारा खाली न्याउरी घाट हुँदै मुगु जोड्ने सडक निर्माण भएपछि जुम्लामा अझै पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button