तपाईँ सुन्दै हुनुहुन्छः

वायु प्रदूषणको प्रभावः जुम्ला ताम्तीका विद्यार्थी भाइरल ज्वरोले ग्रस्त

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं.७ ताम्ती स्थित जनजागृति विद्यालयका छात्र छात्राहरू भाइरल ज्वरोले ग्रस्त भएका छन् ।
ताम्तीका करिब १ सय ४५ जना विद्यार्थीमा भाइरल ज्वरोको समस्या देखिएको छ । यति बेला देशभर बढेको वायु प्रदूषण, धुलो धुवाका कारणले गर्दा जुम्लाका बालबालिका, ज्येष्ठ नागरिकहरूमा ज्वरो आउने, टाउको दुख्ने, आँखा पोल्ने समस्या देखिएको छ ।
ताम्तीका विद्यार्थीहरू एकाएक बिरामी पर्न थालेपछि जनस्वास्थ्य कार्यालयको टोली चैत ३१ गते ताम्ती पुगेको थियो  । जनजागृति माविका करिब ४ सय विद्यार्थी मध्ये स्वास्थ्य जाँच गरिएका १ सय ४५ जनामा विद्यार्थीमा रुघाखोकी, र भाइरल ज्वरोको समस्या देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम बहादुर सुमइले बताउनुभयो ।
उहाँले  भन्नुभयो, “एकपछि अर्को गर्दै सबैमा ज्वरो फैलिएको देखिएको छ । कोरोना संक्रमण पनि बढेकोले एक साता विद्यालय बन्द गर्न सुझाव दिएका छौ ।” अहिले देशभर फैलिएको प्रदूषण, धुवा धुलोका कारण आँखा पोल्ने, भाइरल ज्वरो, रुघाखोकी, पेट दुख्ने समस्या बढी हुने भएकोले सचेत रहन आग्रह गरिएको सूचना अधिकारी तथा स्वास्थ्य निरीक्षक सुमइले जानकारी दिनुभयो ।
यता जनजागृति माविका प्रधानाध्यापक जनक रावतका अनुसार चैत अन्तिम साता परीक्षा दिने क्रममा कक्षा ९ का एक जना विद्यार्थी एकाएक बिरामी भएका थिए । त्यसपछि क्रमशः १/२ दिनमा अन्य विद्यार्थीहरू पनि टाउको दुख्ने, आँखा दुख्ने, ज्वरो आउने पेट दुख्ने समस्याबाट ग्रस्त भएको प्रअ रावतले बताउनुभयो ।
उहाँका अनुसार विद्यालयका १९ जना छात्रछात्रालाई गम्भीर असर भएको थियो । तर स्वास्थ्यको टोली जाँच गर्दा १ सय ४५ जनामा भाइरल ज्वरोको समस्या देखियो । अहिले परीक्षा पनि सकिएको र विद्यार्थी बिरामी पनि भएकोले विद्यालय एक साता सम्म बन्द गरेका छौ ।
१९ जना विद्यार्थी क्रमशः बिरामी हुन थालेपछि विद्यालयबाट स्वास्थ्य जाँचका लागि सबै विद्यार्थीलाई स्वास्थ्य चौकी पठाइएको थियो । स्वास्थ्य चौकीमा जिल्लाबाट गएको टोलीले  जाँच गर्दा करिब १ सय ४५ विद्यार्थीमा सामान्य भाइरल ज्वरोको समस्या देखिएको छ । चेकजाँच तथा औषधी उपचार पश्चात् अवस्था सामान्य भए पनि ताम्ती गाउँ त्रसित भएको ७ नम्बर वडाध्यक्ष मक्कर बहादुर रावतले उल्लेख गर्नुभयो ।
एक सातापछि विद्यालय खुले पनि भाइरल ज्वरोले  प्रभावित विद्यार्थीमा पूर्ण सुधार नआए विद्यालय प्रवेशमा रोक लगाइने भएको छ । गाउँ नै त्रसित भएको अवस्थामा लापरबाही भन्दा सजगता अपनाउन आवश्यक रहेको वडाध्यक्ष रावतको भनाई छ ।
लामो समय खडेरी पर्दा गाउँ गाउँमा स्वास्थ्य समस्या देखिन थालेको तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरु प्रसाल चौलागाईले बताउनुभयो । ताम्तीको अवस्थामा केही सुधार भए पनि छिमेकी गाउँहरूमा पनि यस्तै समस्या देखा पर्न थालेको जानकारी आएको छ । उहाँले कोरोनाबाट त्रसित स्थानीय वायु प्रदूषणका कारण बढी रहेको भाइरल ज्वरोका कारण ताम्ती गाउँ नै सशङ्कित भएको उल्लेख गर्नुभयो ।
पानी नपरेर वातावरण  प्रदूषण भएको र धुलो धुवाँले समस्या निम्त्याएकोले गर्दा महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सचेत रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button