तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जूडशीतल पर्व मनाइँदै 

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा हर्षोल्लासपूर्वक आज जुडशीतल पर्व मनाइँदै छ । नयाँ वर्षको दोस्रो दिन बिहान देखि नै घर आँगनलाई सरसफाइ गरी चोखो पार्ने चलन रहेको छ ।
यसै गरी गाउँ घर तथा शहरमा आफूभन्दा सानाको टाउकोमा चिसो जल सहित आजुरले थपथपाएर आशीर्वाद दिने चलन रहेको छ । बाबुआमा, गुरु, मान्यजन एवं घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आशीर्वाद दिँदै पर्व मनाउन थालिइएको छ ।
वर्षभरि शीतलता मिलोस्, सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित ठुला वडाले घर तथा छरछिमेकका आफू भन्दा सानालाई टाउकोमा जप छोपेर आशीर्वाद दिने चलन रहेको छ ।
यसका साथै आजका दिन वोट विरुवा साथै खेतबारीमा पानी तथा मलजल हाल्ने चलन पनि रहेको छ । यसै गरी चौबाटोमा पनि छर्किने गरेको छ ।
वैशाख महिना शुरु भएसँगै सूर्यको तापक्रम बढ्ने र यसले मानवको जनजीवन प्रभावित हुने भएकाले शीतलताको कामना गरिन्छ । यसका साथै वोर्ट बिरुवामा पनि सिचाई गरेर बिरुवाको संरक्षण गर्नु पर्ने सन्देशका साथै मानव तथा प्रकृति बिचको सम्बन्धलाई दर्शाउने गरेका छ ।
मिथिलामा दुई दिनसम्म नयाँ वर्ष मनाउने चलन रहेको छ । हिजो मात्र सतुवाइन पर्व सम्पन्न भएको छ । यस दिन सातु खाने तथा खुवाउने गरेका छन् । यस दिन सर्वत पनि वितरण गर्ने गरिन्छ ।
कतिपय स्थानमा एकले अर्कोको जिउँमा हिलो पानी छर्केर जूडशीतल पर्व मनाउने गरिन्छ ।  हिलो पानीले पनि शरीरको तापक्रम सन्तुलन गर्ने काम गर्दछ । यसका साथै माटोमा अनेकन् जीवनाशक तत्त्वहरू रहने गरेका छन् ।
जूड शीतलका दिन नयाँ वर्षमा तयार पारेको बाँसी भात, तरुवा, बडी करही, सोहीजनको तरकारी सहितको परिकारहरू खाने तथा खुवाउने चलन रहेको छ । खास गरेर पानीमा राखेको बाँसी भातमा तापबाट मानवलाई जोगिने तत्त्व बढी रहने गरेका कारणले नै पहिला देखि सो परम्परा चल्दै आएको छ ।
यसै बिच जूडशीतल पर्वको अवसरमा प्रदेश नंं २ का सरकारले आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यस वर्षमा बिदा दिइएको सूचना जारी गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button