तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका १ सय ११ वनमा आगलागी

तनहुँ । गर्मी याम सुरु भएसँगै दैनिक जसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय तनहुँमा १ सय ११ वटा वनमा आगलागी भएको छ ।

जिल्ला डिभिजन वन कार्यालय तनहुँका अनुसार जिल्लाका १ हजार ६३८ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । जिल्लाको देवघाट–५ स्थित रानिवन सामुदायिक बनमा १५० हेक्टर, रिसिङको अग्लादेवी सामुदायिक वनमा २ सय हेक्टर सहितमा आगलागी भएको डिभिजन बन कार्यालय तनहुँका सहायक बन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो ।

लामो समयको खडेरी र मानवीय लापरबाहीका कारण वर्षेनी आगलागीका घटना हुने गरेको उहाँको भनाइ छ । जिल्लामा सबैभन्दा बढी रिसिङ, देवघाट, भानु लगाएतको जङ्गलमा आगलागी भएको पराजुलीले बताउनुभयो ।

‘लामो समयदेखि खडेरी परेको छ, खडेरीले गर्दा सबै पातपतिङ्गर र काठजन्य वस्तु सुकेका हुन्छन्, थोरै सतर्कता नअपनाउँदा आगलागी भइहाल्छ, यस्तो समयमा निकै संयमता अपनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘स्थानीयवासी सचेत नभएसम्म आगलागीका घटना भइरहन्छ ।’

नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ । तनहुँमा अन्य कारणभन्दा मानवीय लापरबाहीका कारणले गर्दा आगलागीका घटना हुने गरेको पराजुलीले बताउनुभयो । ’हाम्रो जिल्लामा प्राय जसो ग्राउण्ड फायर हुने गरेको छ ।’ पराजुलीले भन्नुभयो ’पात र साना बिरुवालाई असर पुगेको छ, ठुलालाई खासै असर पुगेको छैन ।’

आगलागीको घटना न्यूनीकरणका लागि कार्यालयले समुदायमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button