तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु

मकवानपुर। वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले देशलाई विश्वसामु चिनाउन खेल क्षेत्र र खेलाडीको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकूद क्षेत्र र खेलाडीको समस्या समाधानका लागि उपमहानगरपालिका सधँै तयार रहेको बताउनुभयो । उहाँले कभर्ड हलमा हाल देखिएको बिजुली र साउण्ड सिस्टमको समस्या समाधानका लागि उपमहानगरपालिकाले आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न १० विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता मीरा चौधरीले खेलको विकास तथा विस्तार गर्ने, विद्यार्थीमा ब्याटमिन्टन खेलप्रति रुचि जगाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीको सहभागितामा विभिन्न पाँच विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।

बाह्र वर्षमुनि उमेर समूहका लागि महिला र पुरुषको सिङ्गल तथा १२ वर्षमाथिको उमेर समूहमा महिला र पुरुषको सिङ्गल तथा पुरुषतर्फको डबल गरी पाँच वटा विधामा प्रतियोगिता सञ्चालन गरिने प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी भएका खेलाडीमध्येबाट उत्कृष्ट ३० जना खेलाडीलाई दुई महिनासम्म निःशुल्क प्रशिक्षण प्रदान गरिने पनि वाग्मती प्रदेशका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने १२ वर्ष उमेर समूहका सिङ्गल छात्र तथा छात्राले क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु तीन हजार प्राप्त गर्नेछन् भने १२ वर्ष उमेर समूहभन्दा माथिका सिङ्गल र डबलतर्फ प्रतिस्पर्धा गर्ने छात्र तथा छात्राले क्रमशः नगद रु १० हजार, रु सात हजार र रु पाँच हजार प्राप्त गर्नेछन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button