तपाईँ सुन्दै हुनुहुन्छः

माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

सिमकोट। घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो ।

निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लिने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लागउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उहाँहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको बताउनुभएका लामाले अब सुरक्षा अधिकारीसँगको सल्लाहमा माटो खन्न रोक्ने प्रतिक्रिया दिनुभयो ।

विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउनुभएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्ने काम तत्काल रोक्नुपर्ने जानकारी दिनुभयो । “झट्ट हेर्दा सामान्यजस्तो देखिए पनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनुपर्छ”, प्रजिअ आचार्यले भन्नुभयो, “तत्काल सिमकोट गाउँपालिका, सिमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लाग्छौँ ।’’

सिमकोट खेल मैदानको माथितिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले जानकाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button