तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर फुटबल क्लबलाई हराउदै बाग्मती युवा क्लब सर्लाही अन्तिम आठमा प्रवेश

तस्विर : भरतपुरविरुद्ध बल प्रहार गर्दै बाग्मतीका खेलाडी (रातो) 

बारा । बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्ड कपको तेस्रो दिन सेन्टर कलेज भरतपुर फुटबल क्लबलाई सडन डेथमा स्तब्ध पार्दै बागमती युवा क्लब सर्लाही अन्तिम आठमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा बिहीबार भएको रोमाञ्चक भिडन्तमा भरतपुरविरुद्ध सङ्घर्षपूर्ण जित हात पार्दै बागमतीले अघिल्लो यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टिमले बराबरी खेलेपछि नजिता सडन डेथबाट निस्किएको हो ।

सडन डेथमा बागमतीका गोलरक्षक अरुण ब्लोनले गोल गर्दा भरतपुर एफसिका प्रज्वल थापाको प्रहार क्रस बार माथिबाट बाहिरियो । यसअघि टाई ब्रेकरमा दुवै टिमले २–२ गोल गरे । टाई ब्रेकरमा राज भुषाल र एकराज बुढाथोकीले गोल गर्दा उमेश राई, बिक्की चाम्लिङ र विपिन गुरुङ अवसर खेर फाले ।

बागमतीका लागि स्टेफन समीर र प्रितम स्याङबोले गोल गरे । बागमतीका निरज थापा, अभि लामा सेभ र मिग्मा घिसिङको प्रहारले जाली चुम्न नसक्दा टाई ब्रेकर बराबरीमा सकिएको थियो । भरतपुरका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेका बाग्मतीका गोलरक्षक अरुण ब्लोन खेलको म्यान अफ दि म्याच घोषित भए ।

उत्कृष्ट खेल प्रदर्शन गरे पनि कठिन जित हात पारेको बागमतीले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । बागमतीले अब विभागीय टिम एपिएफ क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आज राती विजय यूथ क्लब हेटौडा र सुदूरपश्चिम धनगढीबिच खेल हुनेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button