तपाईँ सुन्दै हुनुहुन्छः

‘पछाडि परेका वर्गको रूपान्तरण नभएसम्म मुलुकको समृद्ध कठिन’

जनकपुरधाम । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले समाजमा पछाडि परेका वर्गको रूपान्तरण नभएसम्म देशलाई समृद्ध र सुखी बनाउन कठिन हुने बताउनुभएको छ ।

मन्त्री महतोले समाज कल्याण परिषद्को आयोजनामा ‘सामाजिक रूपान्तरणमा सङ्घ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सामाजिक विकृतिको रुपमा रहेको बालविवाह, दाइजो, बोक्सीको अन्त्य गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले काँधमा काँध मिलाएर एक साथ अगाडी बढ्न आवश्यक भएको बताउनुभयो ।

उहाँले विक्रम सम्बत २०७८ सम्ममा सडक मानवमुक्त तथा २०८२ सम्ममा बालविवाहमुक्त देश बनाउने लक्ष्य पुरा गर्न लागि सरकारका साथै सामाजिक सङ्घ संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

समाज कल्याण परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री महतोले २ सय ३१ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा १२ हजार ७ सय ४० गैर सरकारी सङ्घ संस्था समाज कल्याण परिषद्मा आबद्ध भए पनि १ सय २६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र धेरै गैर सरकारी सङ्घ संस्थाहरू निष्क्रिय भएको जानकारी दिनुभयो ।

प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले सामाजिक चेतनाको वृद्धिमा गैरसरकारी सङ्घ संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै देशको समृद्धिको यात्रामा सङ्घ संस्थाको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नंं २ का अध्यक्ष सुरेश सिंहले सामाजिक रूपान्तरणमा गैर सरकारी सङ्घ संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको बताउँदै प्रदेश नंं २ मा थप योगदान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गैर सरकारी सङ्घ संस्थाका सञ्चालकहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुखहरू उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा दुई दिनसम्म गैर सरकारी सङ्घ संस्थाहरूले देश निर्माणमा कसरी योगदान दिन सक्दछ भन्ने विषयमा छलफल हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button