तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सरकारलाई विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
आज कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा आश्चर्यजनक ढङ्गले नेकपा एमालेका ४ सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो ।
नेकपा माओवादी र नेपाली काँग्रेससँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक तरिकाले नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर कर्णाली सरकारलाई जोगाई दिनु भएको हो ।
प्रदेश सभामा कायम ३९ सांसद मध्ये मुख्यमन्त्री शाहीको पक्षमा–२२ मत र विपक्षमा –१७ मत खसेको थियो । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गर्नु भएको थियो ।
२०७७ असोज २५ गते तत्कालीन नेकपाका १८ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गरेसँगै सुरु भएको सत्ता सङ्घर्ष आज टुङ्गिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button