तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ली युवाले बनाए स्थानीय साधनबाट कार

जुम्ला । स्थानीय स्रोतसाधनको प्रयोग गरी जुम्लाका दुई युवाले कार निर्माण गरेका छन् । जुम्ला सिञ्जा गाउँपालिका २ चुले गाउँका दुई युवाले कार बनाएर गुडाएका हुन् ।

चुले गाउँ निवासी युवा प्रशान्त विक र अज विकले बनाएको कार सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्घाटन गरेका छन् । स्थानीय स्रोतसाधनबाट बनाइएको गाडी नाग्म गमगढी राजमार्गमा गुडाएपछि स्थानीयवासी दङ्ग भएका छन् ।

२० वर्षीय प्रशान्त र १९ वर्षका अजले स्थानीय काठ र फलाम, सोलार पावर सहित बाहिरी आवरण सिसाबाट कार निर्माण गरेका हुन । त्यसैगरी सोलारमा १२ भोल्टवाला डवल व्यट्री जडान गरिएको छ भने छतमा सोलारका पाता समेत जडान गरिएको छ ।

नयाँ वर्षका दिनमा उद्घाटन गरिएको उक्त गाडिलाई करिब एक सय मिटर गुडाइएको थियो । भने चैत ३१ गते एक किलोमिटर गुडेको थियो । गाडीभित्र चालकसहित ५ जना बस्न मिल्छ ।

अवसर पाएको खण्डमा गाडीदेखि मोटरसाइकल समेत बनाउन सक्ने युवाहरू बत्ताउँछन् । स्थानीय तीर्थ वडले युवाहरूले गाडी बनाएर गुडाउलान् भन्ने नसोचेका बताए । उनीहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले युवाहरूको मिहिनेत र सृजनशीलता उजागर तथा प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । दुर्गम गाउँमा जन्मिएर प्रविधि विकासलाई चुनौती दिँदै गरेको सृजनालाई मर्न नदिने रावलको भनाई छ ।

युवाहरूलाई सशक्त बनाउन सीपयुक्त तालिमको व्यवस्था गरिने अध्यक्ष रावलको प्रतिबद्धता छ । २ नम्बर वडाध्यक्ष नवीन शर्माले युवा प्रतिभा जन्माउनका लागि युवामैत्री नीति तथा कार्यक्रममा स्थानीय सरकारले जोड दिने उल्लेख गरे ।

यसैगरी गाउँपालिकाले युवाहरूले बनाएको कारलाई सिञ्जामा बन्दै गरेको खस संग्राहलयमा राख्ने समेत बताएको छ । युवा प्रतिभा पहिचान गर्न पर्यटकहरूलाई देखाउन सङ्ग्रहालयमा सुरक्षित राख्ने पालिकाको भनाई छ ।

गाउँमै गाडी बनाएर गुडाएपछि स्थानीयले उद्घाटनको दिनमा खुसीले पुरस्कार स्वरूप आर्थिक सहयोग समेत गरेका छन् । करिब १८ हजार नगद रकम समेत पुरस्कार स्वरूप उठेको थियो । जुम्लालाई समग्र देश सामु चिनाउन युवाको प्रतिभाले पनि महत्वपूर्ण भूमिका खेल्ने नागरिक अगुवाहरू बताउँछन् ।

कसरी आयो कार बनाउने सोच ?
सडकमा गाडी गुडिरहेको देखेपछि यो कसरी बन्छ भन्ने विषयमा जिज्ञासा पलाएको प्रशान्त विकले बताए । त्यसको अभ्यास दुई तीन वर्षदेखि गर्दै आएको उनीहरूको भनाई छ ।

प्रशान्तले भने, “पहिले आफूले एक दुई किलोमिटर टाढाबाट रिमोटले ढोका खोल्ने, जौ काट्ने मेशिन समेत बनाएका थियौ । त्यसपछि गाडी बनाउने विषयमा सोच आयो । प्रयास जारी राख्यौ । अन्ततः कार बनाउन पनि सफल भयौ ।” घर परिवारको सहयोगमा करिब एक लाखको खर्चमा गाडी बनाएर गुडाएको प्रशान्तले जानकारी दिए ।

युट्युब हेर्दै स्थानीय साधनको प्रयोग गरी कार बनाएर गुडाउन पाउँदा निकै खुसी लागेको अर्का युवा अज विकले बताउनुभयो । भविष्यमा पनि प्रविधिमैत्री काममा जोड दिने लक्ष्य रहेकोले सबै निकायलाई सहयोग गरिदिन उहाँको अपिल छ ।

यसअघि जुम्ला तातोपानी गाउँपालिका ५ का युवा टक्क नेपालीले युट्युब हेरेरै प्याराग्लाईडिङ समेत निर्माण गरेका थिए । उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार समेत पाई सकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button