तपाईँ सुन्दै हुनुहुन्छः

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृतहरूको नाम सार्वजनिक

भद्रपुर, झापा । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका पुरस्कृतहरूको नाम सार्वजनिक गरेको छ ।

आठ वर्षदेखि समाजका विभिन्न विधाका व्यक्ति तथा संस्थालाई प्रतिष्ठानले सम्मान तथा पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठान देशमै ठुलो धनराशिको पुरस्कार वितरण गर्ने गैरनाफामुलक सामाजिक संस्था हो ।

प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१९ बाट गोरखा पालुङटार–७ का राजेन्द्रराज पन्त र सोही पुरस्कार–२०२० बाट पाल्पा मदनपोखरा–७ का ढकेश्वर घिमिरे र प्रचण्डमान श्रेष्ठलाई संयुक्त रुपमा पुरस्कृत गरिने भएको छ ।

पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

त्यस्तै, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ बाट दोलखा तामाकोसी–२ की सिर्जना कार्की र सोही पुरस्कार–२०२० बाट झापा अर्जुनधारा–की इन्दिरा रानालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ बाट झापा चन्द्रगढीका चूडामणि रेग्मी तथा सोही पुरस्कार–२०२० बाट दाङ घोराही–१८ का दधिराम सुवेदीलाई पुरस्कृत गरिनेछ ।

पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१९ बाट झापा शिवसताक्षीका गायक प्रतिम आचार्य तथा सोही पुरस्कार–२०२० बाट मोरङ बुढीगंगा–२ को रक्षा किशारी समूहलाई पुरस्कृत गरिने बताइएको छ ।

पुरस्कारको राशि ५१ हजार १११ रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको पत्रकार सम्मेलनमार्फत पुरस्कृत र सम्मानित व्यक्ति संघसंस्थाको नाम सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानले अर्को वर्षबाट वितरण गर्नेगरी श्री प्रसाद ओली प्रज्ञान पुरस्कार थप गरिएको जानकारी दिनुभयो ।

राष्ट्रको गरिमा बढाउन योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गरिनेछ । प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ ।

यसैगरी, प्रतिष्ठानका संस्थापक कार्यसमिति सदस्य बद्रीप्रसाद ओलीको स्मृतिमा क्यान्सर सम्बन्धी र यस्तै प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति, संघसंस्था मध्येबाट प्रत्येक वर्ष एक लाख एक हजार १११ रुपैयाँको सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उनकै स्मृतिमा क्यान्सर वा यस्तै प्रकृतिका रोगको खोजी कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वर्ष तीन लाख रुपैयाँसम्मको वार्षिक सहयोग गरिने कार्यक्रममा जानकारी दिइयो ।

बद्रीप्रसाद ओलीको ब्रेन क्यान्सर रोगबाट वि.सं. २०७६ चैत ७ गते ५९ वर्षको उमेरमा अमेरिकामा निधन भएको थियो । उनी श्रीप्रसाद ओली र अम्बिकादेवी ओलीका कान्छा छोरा हुन् । स्वर्गीय बद्रीप्रसादको परिवारले पुरस्कारका लागि प्रत्येक वर्ष ५ लाख रुपैयाँ प्रतिष्ठानलाई उपलब्ध गराउनेछ ।

त्यस्तै, प्रतिष्ठानले यो वर्ष अन्तर्राष्ट्रिय जुडो खेलाडी झापा–२ की देविका खड्कालाई खेलकुदमा श्री प्रसाद पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

पुरस्कारको राशि नगद २५ हजार १११ रुपैयाँ रहेको छ ।

अध्यक्ष ओलीका अनुसार श्री प्रसाद ओली साहित्यिक पुरस्कार यो वर्ष सुरुङ्गाका साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ । चन्द्रगढीको लेखनाथ पुस्तकालयले लेखनाथ जयन्तीको दिन सो पुस्कार वितरण गर्नेछ ।

सबै पुरस्कार यही बैशाख १४ गते कनकाई उद्योग वाणिज्य संघको सभाहलमा वितरण गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button