तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबलको तयारी पुरा

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा वैशाख ५ गतेबाट सञ्चालन हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगिताको तयारीका बारेमा शनिवार पत्रकार सम्मेलन गर्दै भोजपुर जिल्ला फुटबल संघका महासचिव तथा खेल संयोजक सफल किराँतले ९५ प्रतिशत तयारी पुरा भएको बताउनुभयो ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना, भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा तथा चौधरी ग्रुपको सह प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएसन, क्यामरुन सहित ८ वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिता अन्तर्गत प्रतिस्पर्धा गर्ने टिमहरूको खेल तालिका समेत सार्वजनिक गरिएको संयोजक किराँतले बताउनु भयो । उहाँका अनुसार वैशाख ५ गतेबाट ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गतका खेलहरू प्रत्येक दिन एउटा खेल सञ्चालन हुने छन् ।
पहिलो खेल वैशाख ५ गते भगवती स्पोर्टस क्लब खोटाङ र धरान फुटबल क्लब सुनसरीका बिचमा हुने छ । यसैगरी दोस्रो खेल सगरमाथा यूथ क्लब मोरङ र आयोजक भोजपुर फुटबल क्लबका बिच वैशाख ६ गते हुने छ ।
तेस्रो खेल अफ्रिकन रुटस एसोसिएसन क्यामरुन र धनकुटा फुटबल क्लबका बिचमा ७ गते र चौथो खेल रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रुपन्देहीका बिच वैशाख ८ गते हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधि सहित नगद ५ लाख हात पार्ने छ भने उपविजेताले ३ लाख प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनल खेल भने वैशाख ११ गते हुने छ ।
करिब ३४ लाखको लागतमा हुने फुटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटबल सङ्घबाट ५ लाख र चौधरी ग्रुपले १ लाख सहयोग गरेको छ भने बाँकी रकम अन्य विभिन्न क्षेत्रबाट सहयोग मागिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button