तपाईँ सुन्दै हुनुहुन्छः

डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

डोटी । डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।
‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कोरोना भाइरसको त्रासका बीच डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिद्वारा आज आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो ।
सो अवसरमा मन्त्री सुवेदीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । मन्त्री सुवेदीले प्रदेशका सबै महिला स्वयंसेविकालाई पहिलो वर्ष प्रत्येकको बैङ्क खातामा रु १०/१० हजार प्रदान गरिएको र अहिले परिवारका पाँच सदस्यसहित स्वास्थ्य बिमा गरिएको जानकारी दिनुभयो ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले एउटा व्यक्ति पनि  कोरोना भाइरस विरुद्धको खोप लगाउन छुट्यो भने देशलाई नै अप्ठ्यारो पर्ने भएकाले सबैलाई खोप लगाउन जरुरी रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति तथा जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा सबै स्थानीय तहका जनप्रतिनिधि र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button