तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा भारी मतले पविन्द्र श्रेष्ठ विजयी

 तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्र कुमार श्रेष्ठ विजयी हुनुभएको छ । शनिबार सम्पन्न १६औं महाधिवेशनबाट संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

श्रेष्ठले अध्यक्षका अर्का प्रत्यासी वैकुण्ठनाथ मिश्रलाई १४१ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । श्रेष्ठले ८०६ मत पाउँदा मिश्रले ६६५ मत प्राप्त गर्नुभयो । २३ मत भने बदर भएको छ । मतदानमा कुल १४९४ मत खसेको थियो ।

१४ औं महाधिवेशनमा अध्यक्षमा कृष्णराज पण्डितसंग पराजित श्रेष्ठले यो चुनावमा भने सहज जीत दर्ता गर्दै नेतृत्वमा जाने लामो इच्छा पूरा गर्नुभएको छ ।

संघको अध्यक्ष पदका लागि मात्रै शनिबार मतदान भएको थियो । संघको नयाँ नेतृत्वका लागि मतदानमार्फत नेतृत्व चयन भएको हो । एक जनाका पक्षमा सहमतिका लागि संघका पूर्वअध्यक्षहरुले गरेको अन्तिम प्रयास सफल हुन सकेको थिएन ।

अध्यक्ष बाहेकका अन्य सबै पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल र कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ (राकु), सुरेश पुरी र सुबोध अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि मल्ल सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिएका नेक मोहम्मद मिया र सुनिल श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिनुभयो। त्यस्तै कोषाध्यक्षमा महेन्द्र श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

संघको वस्तुगत सदस्यमा सुनचाँदी व्यवसायी समिति विजयी भएको छ । क्षेत्रीय होटल संघले उम्मेदवारी फिर्ता लिए पछि संघ सर्वसम्मत भएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिनुभयो ।

अध्यक्षका प्रत्यासीमध्ये अर्जुन अधिकारीले अन्तिम समयमा उम्मेदवारी फिर्ता गर्नुभएको थियो । उहाँ बाहेक अन्य दुई प्रत्यासीले उम्मेदवारी फिर्ता लिनुभएको थिएन ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button