तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर १ जनाको मृत्यु, २४ जनाभन्दा बढी घाइते 

काठमाडौँ । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रमा विद्युत् प्रवाहमा आएको खराबीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने २४ जनाभन्दा बढी घाइते भएका छन् ।
हावाहुरीका कारण दुई दिनदेखि अवरुद्ध विद्युत् प्रवाह भए लगत्तै मोबाइल चार्ज गर्ने क्रममा शनिबार सो घटना भएको हो ।
मोबाइल चार्ज गर्ने क्रममा महालक्ष्मी नगरपालिका वडा नं. ४ का चन्द्र बहादुर कार्कीको मृत्यु भएको छ ।
घाइते भएका मध्ये गम्भीर अवस्था रहेको ९ जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य घाइते अन्य १५ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
गम्भीर घाइते हुनेमा पदम श्रेष्ठ, बम कुमारी श्रेष्ठ, लिला देवी भण्डारी, तारा कटुवाल, रमा रोक्का, मोती माया जिमी, सम्झना लिम्बु, रावित्रा निरौला र लाझीहाङ जिमीको अवस्था गम्भीर रहेको प्रहरी चौकी चानुवाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रकाश राजवंशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button