तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय सीमावर्ती जिल्लाका आइसोलेसन वार्डमा कोरोना सङ्क्रमितको चाप

कञ्चनपुर । भारतबाट आवतजावत गर्ने सुदूरपश्चिमको मुख्य नाका कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सक्रमितको सङ्ख्या बढिरहेको छ ।

यसअघि  सुनसान रहेको कोरोना अस्पताल अहिले सक्रमितले भरिन थालेका छन् भने बन्द गरिएको आइसोलेसन स्थानीय प्रशासन र सरोकारवाला निकायले पुनः सञ्चालनको तयारी गरिरहेका छन् ।

कञ्चनपुरको महाकाली अस्पतालस्थित कोरोना अस्पतालमा सङ्क्रमित बिरामीले भरिएका छन् ।

अस्पतालमा रहेको ५० शय्याको आइसोलेसनमा अहिले ५३ कोरोना भाइरस सक्रमितको उपचार भइरहेको जनाएको छ ।

महाकाली अस्पताल कोभिड–१९ का सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले सङ्क्रमित थपिँदै जाँदा व्यवस्थापनमा थप जटिलता थपिएको बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमणका जटिल लक्षण देखिएका बिरामीलाई सघन उपचारका लागि धनगढी पठाउने गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जनस्वास्थ्य कार्यालयमा रहेको ‘आइसिएच’ भवनमा आइसोलेसन बनाउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले उक्त भवनमा १०० शय्या राखेर उपचार गर्ने गरी आइसोलेसन कक्ष बनाउने काम भइरहेको जानकारी दिनुभयो ।

गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका पुर्नवास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले आज बिहान नाकामा ३०० को कोरोना परीक्षण गरिएकामा ३३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार एक महिनाको अवधिमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट झण्डै ४० हजार नागरिक स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button