तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त, आजै शपथ हुने

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा नेतृत्वमा २०७४/११/३ गते गठित मैजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा थापालाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको हो ।

नेकपा एमालेको नेता एवम् नवनियुक्त मन्त्री थापाको आजै साँझ ५:०० बजे राष्ट्रपति भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको थियो । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button