पर्यटकलाई लोभ्याउँदै सत्खलुवा ताल
बर्दिया । कसैको नजर नपुगेको बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ स्थित सत्खलुवा तालमा आजभोलि पर्यटकको घुइँचो देखिन्छ । रमणीय वातावरण र मनोरम दृश्यले पर्यटकको मनलाई थप आनन्दित बनाई रहेको पाइन्छ । पूर्वपश्चिम राजमार्गको बैदी चोकबाट करिब तिन किलोमिटर उत्तरमा अवस्थित सतखलुवा ताल पुग्न अगावै फराकिला बाटो अनि मनोरम दृश्यको बिचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ ।
बर्दियाको सदरमुकाम गुलरिया देखी करिब २५ किलो मिटरको दुरीमा पर्ने पर्यटकीय क्षेत्र सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । विभिन्न जातीका जीवजन्तुको साथ साथै अनेक प्रजातिका चराचुरुङ्गी, जङ्गली पाटे बाघ, चित्तल, दुम्सी, बँदेल लगायतका जनावर सजिलै अवलोकन गर्न पाउनुले पर्यटकको मन अझ आनन्दित तुल्याउँछ, यति मात्र होइन ताल क्षेत्रमा गरिएको डुङ्गा को सफारीले थप मनोरञ्जन प्रदान गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जसँगै सटेको बारबर्दिया नगरपालिकाको सतखलुवा ताल पर्यटकीय गन्तव्य बन्न प्रशस्त सम्भावना बोकेको भए पनि प्रचार प्रसारको अभावमा पछि परेको देखिन्छ । नगरपालिकाको सामुदायिक वनको मध्यवर्ती क्षेत्रमा रहेको सुन्दर तालको दृश्यले त्यहाँ आउने पर्यटकलाई मोहित बनाएको छ । सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था गरिएसगैं त्यस वरपरका पर्यटकहरूको भीड लाग्ने गरेको स्थानीय बताउँछन्।
सत्खलुवाताल जादा बाटोमा रमणीय दृश्यको अवलोकन गर्नुका साथै त्यहाँ रहेको होमस्टेमा स्थानीय आर्गानिक खानाका विविध परिकार तथा परम्परागत लोक संस्कृति झल्किने मनोरञ्जनात्मक नृत्य पनि हेर्न पाइन्छ । होमस्टेमा विश्राम गरिसके पछि करिब १० मिनेटको हिँडाई पश्चात् मनै लोभ्याउने सत्खलुवा ताल पुगिन्छ ।
वि. ससं . २०७१ सालमा नेपाल सरकारले उक्त क्षेत्रलाई नेपालको सिमसार क्षेत्र मध्ये सत्खलुवा ताललाई पनि सिमसार क्षेत्रको रुपमा घोषणा गरे संगै सो स्थानको जग्गाको मूल्य बढेको बारबर्दिया ९ खैरेनीका स्थानीय बासिन्दा सोम प्रसाद थारुले बताउनु भयो । सतखलुवा ताल संरक्षण समितिले आफूलाई सुरु देखी नै कर्मचारीको रुपमा राखेका ताल घुम्न आउँदा जङ्गलमा सचेत हुनुपर्ने बताउँदै सजगता अपनाई हिँडडुल गर्न थारुले आग्रह गर्नु भयो ।
सत्खलुवा ताल संरक्षण समितिका रेशमलाल अधिकारीले यस तालको विकास तथा प्रवर्द्धनका लागि स्थानीय सरकार र केन्द्रले अझै चासो दिनुपर्ने बताउनुभएको छ । ताल घुम्न आएका स्थानीय पर्यटकले ताल क्षेत्र वरपर केही समय विश्राम गर्न मिल्ने टहरा, स्वच्छ पिउने पानीको प्रबन्ध लगायतको व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीय पर्यटक रवीन्द्र थारुले सुझाव दिनु भयो ।
अधिकांश सार्वजनिक बिदा वा शनिवारका दिन बढी भिडभाड रहने सतखलुवा तालमा पिकनिकको लागी पनि पर्यटकको पहिलो रोजाइ बन्न पुगेको स्थानीय बताउँछ ।
प्रतिक्रिया राख्नुहोस्