तपाईँ सुन्दै हुनुहुन्छः

छोरीलाई शिक्षित नबनाएसम्म विकास असम्भव : मुख्यमन्त्री राउत

वीरगन्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उपेक्षा र विभेदको कारण पछि परेका महिला तथा बालिकाहरूलाई मूलधारमा नल्याएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनु भएको छ ।

प्रदेश नम्बर २ सरकारले बेटी पढाऊ, बेटी बचाउ अभियान अन्तर्गत छात्राहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षाको वीरगन्जबाट शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री राउतले छोरीलाई शिक्षित नबनाएसम्म समाजको विकास नहुने कुरामा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार सुरुदेखि नै समाज रूपान्तरणका लागि अन्याय, विभेद तथा हिंसामा परेका महिलालाई विभिन्न अवसर प्रदान गरी मूलधारमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउँदै आएको बताउनुभयो ।

निजामती प्रशासनमा प्रदेशका महिलाहरूको आकर्षण बढाउने उद्देश्यले छात्राहरूको लागि प्रदेश भरी लोकसेवा आयोगको निःशुल्क कक्षा सुरु गरिएको मुख्यमन्त्री राउतले बताउनुभयो ।

उहाँले बेटी बचाउ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छोरी बिमा कार्यक्रम, कक्षा ८ देखि माथिका छात्राहरूलाई निःशुल्क साइकल वितरणसँगै चालु आर्थिक वर्षमा ल्यापटप समेत वितरण गर्ने योजना रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले अन्य प्रदेशको तुलनामा प्रदेश २ का महिलाहरू जातीय वर्गीय विभेदको कारण पछि परेको कारण प्रदेश सरकारले निजामती ऐन संशोधन गर्दै ५० प्रतिशत महिलाहरूलाई आरक्षण दिएको बताउनुभयो ।

छिटो नै प्रदेश सरकारले लोकसेवा अन्तर्गत भर्ना लिने तयारीमा रहेको हुँदा निःशुल्क कक्षा सञ्चालनमा ल्याइएको र निश्चित रुपमा छोरीहरू सहभागी भई प्रहरी तथा निजामती सेवामा भर्ना हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम अन्तर्गत प्रदेशका ८ जिल्लामा ४ केन्द्र बनाई कक्षा सञ्चालन प्रारम्भ गरिएको छ ।

बारा–पर्साको वीरगन्ज, रौतहट–सर्लाहीको गौर, महोत्तरी–धनुषाको जनकपुरधाम, सिराहा–सप्तरीको राजविराजमा कक्षा सञ्चालन सुरु गरिएको प्रदेश २ का मुख्य सचिव गोकर्णमणि दवाडीले बताउनुभयो ।

प्रत्येक जिल्लाबाट ४०/४० जना छोरीहरूलाई छनौट गरी कक्षामा सहभागी गराइएको दवाडीले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद प्रह्लाद गिरी, करिमा बेगम, भिमा यादव, वीरगन्ज महानगर प्रमुख विजय सरावगी, जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, मन्त्रिपरिषद्का सचिव यमप्रसाद भुसाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button