तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु, ४५ जनामा सङ्क्रमण पुष्टि

बीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज दिउँसो १ः४० बजे मृत्यु भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ५१ वर्षिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ फिजीसियन डा. निरज सिंहले जानकारी दिनुभयो ।
उच्च ज्वरो, खोकी, निमोनियाको कारण शनिबार नारायणी अस्पतालमा भर्ना भएकी महिलाको उपचार कै क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
९० जनाको पिसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमित मध्ये ३९ जना पर्सा जिल्लाको रहेकोमा बीरगंज महानगरपालिकाका ३८ जना रहेका छन् भने पर्सा गढीका १ जना रहेको डा.दासले बताउनुभयो ।
त्यसै गरी कोरोना सङ्क्रमण पुष्टि हुनेहरूमा बाराका ६ जना रहेका छन् ।
संक्रमित मध्ये २६ पुरुष र १९ महिला रहेका छन् । सङ्क्रमितको उमेर समूह ६ बर्ष देखी ८२ बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ६ देखि ३५सम्म रहेको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
पछिल्लो ७ दिनयता नारायणी अस्पतालमा गरिएको परीक्षणको क्रममा २ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।
छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अनियन्त्रित रुपमा बढ्दै गएपछि त्यसको असर मुलुकको प्रमुख नाका बीरगंजमा देखिएको चिकित्सकहरूले बताएका छन् ।
खुल्ला सिमाना र त्यहाँबाट हुने आवतजावतका कारण भारतबाट आएकाहरूले कोरोना सङ्क्रमण बोकेर आउँदा बीरगंज लगायतका सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको नारायणी अस्पतालका चिकित्सक डा.निरज सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button