तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल शुरु

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आइतबारबाट चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र विशिष्ट अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उद्घाटन गर्नुभयो । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना, भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा तथा चौधरी ग्रुपको सह प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएसन, क्यामरुनको टिम सहित आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा यूथ क्लब मोरङ, धनकुटा फुटबल क्लब, धनकुटा, रेड हर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाङ गोर्खा ब्याइज क्लब, रुपन्देही गरी ८ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको पहिलो उद्घाटन खेल आइतबार भगवती स्पोर्टस क्लब खोटाङ र धरान फुटबल क्लब सुनसरीका बिचमा हुने छ । यसैगरी दोस्रो खेल सगरमाथा यूथ क्लब मोरङ र आयोजक भोजपुर फुटबल क्लबका बिच वैशाख ६ गते हुने छ । तेस्रो खेल अफ्रिकन रुटस एसोसिएसन क्यामरुन र धनकुटा फुटबल क्लबका बिचमा ७ गते र चौथो खेल रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रुपन्देहीका बिच वैशाख ८ गते हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका महासचिव तथा खेल संयोजक सफल किराँतले बताउनुभयो ।
आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने वैशाख ११ गते हुने छ ।
करिब ३४ लाखको लागतमा हुने फुटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटबल सङ्घबाट ५ लाख र चौधरी ग्रुपले १ लाख सहयोग गरेको छ भने बाँकी रकम अन्य विभिन्न क्षेत्रबाट सङ्कलन गरिने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button