तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय एक साताका लागि बन्द

सल्यान । एक छात्रालाई कोरोना पोजेटिभ देखिएपछि जिल्लाको शारदा नगरपालिका ८ मार्के स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । अन्य विद्यार्थीहरू जोखिममा पर्न नदिन आइतबारदेखि विद्यालय बन्द गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर वि.क.ले बताउनुभयो । धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पीसीआर परीक्षण गराउँदा कक्षा १० मा पढ्ने एक छात्रालाई कोरोना पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ ।
कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा ६ सय ५० विद्यार्थी अध्ययनरत रहेका उहाँको भनाई छ । सबैको स्वास्थ्य सुरक्षाको लागि विद्यालय बन्द गराउनु परेको नगरपालिकाका शिक्षा संयोजक लिलाधर बबालले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा कोरोना देखिन थालेपछि अनिवार्य रुपमा मास्क लगाएर विद्यालय जान तथा अन्य सुरक्षा सावधानी अपनाउन उहाँले आग्रह गर्नु भएको छ ।
स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जिल्लाका विभिन्न स्थानमा चार जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरूको आइसोलेसनमा राखेर उपचार गराइरहेको जानकारी दिनुभयो । अहिले एक जना बाहेक अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button