तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने

काठमाडौँ । सरकारले सङ्घीय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई थप स्पष्ट पार्ने भएको छ । नयाँ संविधानअनुसार सङ्घीय ऐन तर्जुमाका क्रममा रहेको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आयोजना गरेको अभिभावकको सवाल प्राथमिकीकरण तथा रणनीतिक योजना अद्यावधिक कार्यशालाको समापनका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले विद्यालयको गुणस्तर सुधारका लागि व्यवस्थापन समिति, अभिभावक, प्रधानाध्यापक र शिक्षकहरूको सक्रियता महत्त्वपूर्ण हुने भएकाले ती पक्षको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसका लागि योजनाबद्ध काम गर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता शर्माले सरकारले सामुदायिक विद्यालय सुधार दशक घोषणा गरी कार्यक्रम कार्यान्वयन भइरहेकाले रूपान्तरणकारी राम्रा विद्यालयलाई अगाडि ल्याउन आग्रह गर्नुभयो । उहाँले शिक्षामा बजेट बढाउन पहल भइरहेको पनि जानकारी दिँदै सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय सुधार योजना, गाउँ र नगर शिक्षा सुधार योजना बन्नुपर्ने जनाउनुभयो ।
शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा काभ्रेको धुलिखेलमा सम्पन्न तीन दिने कार्यशालाले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउनुपर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button