तपाईँ सुन्दै हुनुहुन्छः

आईपीएलमा दिल्लीको जित, पञ्जाव ६ विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

आईपीएल अन्तर्गत गएराति दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले हराएको हो । १ सय ९६ रनको लक्ष्य दिल्लीले खेल सकिन १० बल अगावै ४ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

दिल्लीका लागि शिखर धवनले ९२ रन जोडे । त्यस्तै पृथ्वी शाले ३२ रन बनाउँदा मार्कस स्टोइनिस २७ रनमा अविजित रहे । पञ्जाबका जी रिचार्डसनले दुई विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । पञ्जाबका मयंक अग्रवालले ६९ तथा कप्तान केएल राहुलले ६१ रन बनाए । जितसँगै तीन खेलबाट ४ अंक जोड्दै दिल्ली तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

उता पुछारबाट दोस्रो स्थानमा रहेको पञ्जाबको यो लगातार दोस्रो हार हो । यसअघि हिजै भएको पहिलो खेलमा लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा रोयल च्यालेञ्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराएको थियो । जितपछि बेंग्लोरले शीर्ष स्थान समेत कब्जा गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button