तपाईँ सुन्दै हुनुहुन्छः

खेलकूद समाचारः मेयर कप फुटसल प्रतियोगिता वैशाख ९ देखि

काठमाडौँ ।सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ । सूर्यविनायक–८ सिपाडोलस्थित सिपाडोल युवा समाजले आयोजना गर्ने प्रतियोगिताको तयारी पूरा भएको सुनपा–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

यही वैशाख ९ र १० गते आयोजना हुने प्रतियोगितामा ती वडाका ११ टिमबीच प्रतिस्पर्धा हुने समाजका अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजार, उत्कृष्ट गोलरक्षकलाई रु १० हजार र उत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने समाजका सचिव प्रदीप रिसालले बताउनुभयो ।

कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनगर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता आयोजना गरिने भएको बताइएको छ ।

प्रदेश खेलकूद परिषद्का उपाध्यक्ष र जिल्ला अध्यक्ष नियुक्त

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेश खेलकूद परिषद्को उपाध्यक्ष सदस्य र जिल्ला खेलकूद विकास समितिका अध्यक्षलगायतका पदाधिकारीको नियुक्ति गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रश्तावमा मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकूद परिषद्को उपाध्यक्षमा म्याग्दीका नारायण पुनलाई नियुक्त गरेको प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । सदस्य सचिवको नियुक्ति भएको दुई महीनापछि परिषद्ले पूर्णता पाएको हो ।

यसैगरी परिषद् सदस्यमा गिरमान गुरुङ, वासु बराल, दिलबहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक नियुक्त हुनुभयो । सदस्य सचिव गुरुङका अनुसार प्रदेशका ११ वटै जिल्लाका खेलकूद विकास समितिका अध्यक्षलगायतका पदाधिकारी नियुक्त गरिएको छ ।

कास्की जिल्ला खेलकूद विकास समितिको अध्यक्षमा तोरणबहादुर बानियाँ, उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली र कोषाध्यक्षमा कञ्चन थापा नियुक्त हुनुभएको छ । स्याङ्जा जिल्लाका अध्यक्षमा गिरीप्रसाद गुरुङ र सचिवमा शीतल जङ्ग केसी हुनुहुन्छ ।

यसैगरी तनहुँको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङको अध्यक्षमा योगबहादुर गुरुङ र सचिव रोजी गुरुङ, नवलपुर अध्यक्षमा सेतबहादुर पुन र सचिवमा धुव्र खनाल, मनाङको अध्यक्षमा चीनबहादुर घले र सचिवमा नवराज गुरुङलाई नियुक्त गरिएको छ ।

गोरखा जिल्लाको अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङको अध्यक्षमा मीनकुमार शेरचन र सचिवमा विनोद विसी, म्याग्दीको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वतको अध्यक्षमा हर्कमान गुरुङ र सचिव अदित गुरुङ र बागलुङको अध्यक्षमा कुमार खड्का र उपाध्यक्षमा लोकेन्द्र केसी नियुक्त हुनुभएको सदस्य सचिव गुरुङले जानकारी दिनुभयो ।

नमोबुद्ध राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनक मावि प्रथम

बनेपा– काभ्रेपलाञ्चोकको भकुण्डेवेशीमा सञ्चालन भएको नमोबुद्ध नगरस्तरीय १३ आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनक मावि भकुण्डेबेशी प्रथम भएको छ । सो प्रतियोगितामा सबैभन्दा बढी पदकसहित विद्यालय प्रथम भएको हो ।

प्रतियोगितामा जनकमाविले १७ स्वर्ण, ८ रजत र ४ कास्य गरी कूल २९ वटा पदक जित्न सफल भएको हो । यो सहित सो विद्यालयले लगातार दोस्रोपटक रनिङ शिल्ड जितेको हो । दोस्रो भएको श्रीकृष्ण मावि दाप्चाले ५ स्वर्ण, ५ रजत र २ कास्य गरी १२ पदक जितेको छ । त्यस्तै तेस्रो बनेको बाल उज्ज्वल माविले ३ स्वर्ण, ६ रजत र ८ कास्य गरी १७ वटा पदक जितेको छ ।

प्रतियोगिताका विजयी समूह तथा खेलाडीलाई आइतबार नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नं ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्ले, नेपाली सेनाको २६ नम्बर बाहिनीका सेनानी दलबहादुर रावललगायतले शिल्ड तथा मेडल प्रदान गर्नुभयो । प्रतियोगितामा नगरपालिकाभित्रका १५ माध्यमिक विद्यालयमध्ये ११ सामुदायिक र दुई वटा संस्थागत गरी १३ विद्यालयका कूल ४८० विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कबड्डी, भलिबल, लङ्जम्प, हायजम्पलगायतका खेलका १५ विधामा छात्र र छात्रातर्फका खेल खेलाइएको थियो । प्रतियोगिताको व्यक्तिगत प्रतिस्पर्धातर्फका विजेता तथा उपविजेताले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । उपविजेताबाट नगरस्तरीय समूह बनाएर जिल्लास्तरीय प्रतियोगितामा पठाइने जनक माविका शिक्षक हरिहर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button