तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ समिति बैठक : बजेट कार्यान्वयन र आगामी बजेट तयारीमा मन्त्रालयगत छलफल

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेट तयारीका सम्बन्धमा आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेको छ ।
समितिले आज बसेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पूजिँगत खर्च कम हुनुका कारण, त्यसमा भएका नीतिगत समस्या र आगामी बजेट कार्यान्वयनका विषयमा छलफल गरेको हो ।
छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले सीमित बजेटका बाबजुद पनि मन्त्रालयले क्षेत्रगत विकास र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा बजेट कार्यान्वयन गरिरहेको बताउनुभयो ।
उहाँले मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा हिमाली तथा उच्च पहाडी जिल्ला केन्द्रित नयाँ कार्यक्रम समेट्न लागिएको र त्यसका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले चालु आर्थिक वर्षको वित्तीय प्रगति २० प्रतिशत मात्र रहेको उल्लेख गर्नुहुँदै पूजिँगत खर्च कम हुनका कारण र कार्यान्वयनमा रहेका नीतिगत समस्याबारे समितिलाई जानकारी गराउनुभएको थियो ।
अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आर्थिक वर्षको बजेट तयारीका विषयमा विभिन्न मन्त्रालयहरूसँग निरन्तर छलफल गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button