तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम (१) बमोजिम तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावका साथ संविधानको धारा १८८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले)का ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । एमालेमा प्रवेश गरेको जनाउँदै आफ्ना दुई सदस्यलाई कारवाही गरेपछि माओवादी केन्द्रमा १७ जना सदस्य कायम छन् । लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।

यसैबीच पोखरेल सरकारमा रहेका माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आजै आआफ्ना पदबाट संयुक्त राजीनामा दिनुभएको छ । उहाँहरुले मुख्यमन्त्री पोखरेललाई राजीनामा पत्र बुझाउनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button