तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकाका सम्पूर्ण विद्यालय भोलिदेखि ९ दिन बन्द

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका सबै विद्यालयहरू ९ दिनको लागि बन्द गरिने भएको छ ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशीला चन्दको अध्यक्षतामा आज बसेको बैठकले पछिल्लो समय वातावरणीय अवस्था, कोभिडको संक्रमण तथा बढ्दो गर्मीको कारणले सबै विद्यालय तथा कोचिङ सेन्टर, मन्टेश्वरी, ट्युसन सेन्टर लगायत बन्द गरिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रका केही विद्यालयका शिक्षकहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सरोकारवाला निकायहरू सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयका छाता सङ्गठन प्याप्सन र एनप्याप्सनका प्रतिनिधिहरूसँग छलफल गरी वैशाख ७ देखि १५ गतेसम्म ९ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका कार्यवाहक नगरप्रमुख सुशीला चन्दले बताउनु भएको छ ।
वैशाख २६ गतेदेखि यस शैक्षिक सत्रको वार्षिक परीक्षा सञ्चालन गरिने, पूर्वनिर्धारित परीक्षाहरू कक्षा १० का आन्तरिक परीक्षा स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
त्यसै गरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको भानु माविका एक जना शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख १० गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक यज्ञराज पण्डितले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button