तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा मास्क नलगाउने १ सय २५ जना प्रहरी नियन्त्रणमा 

बीरगंज । पर्सामा मास्क नलगाउने १ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्नुका साथै जरिवाना  समेत तिराएको छ ।
सङ्क्रामक रोग ऐन–२०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरूले मास्क नलगाउनेलाई कारबाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिना मास्क बजारमा भेटिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउने तथा सम्झाई बुझाई अबदेखि बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क उपलब्ध गराई छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
आज बिहानदेखि पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको घण्टाघर चोक, माई स्थान, भानु चोक, रानी घाट मुर्ली चोक, लगायतको ठाउँमा मास्क बिना हिडेकाहरुलाई कारबाही गरेको छ ।
बिना मास्क घर निस्किने प्रवृत्तिलाई निरुत्साहित गर्न यो अभियान पर्साको सखुवाप्रसौनी, पर्टेवा सुगौली, छिपहरमाई गाउँपालिका लगायतका स्थानीय पालिकाहरूमा रहेको हाटबजारमा पनि सुरु गरिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।
पर्सामा तीव्र गतिमा कोरोना फैलिरहेको अवस्थालाई मध्यनजर गरी मास्क नलगाउने विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।
पर्सा प्रहरीले वीरगन्ज महानरपालिका लगायतका अन्य सबै पालिकाहरूमा म्याकिङ्ग तथा जनचेतनामूलक कार्यक्रमलाई पनि अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैबीच मास्क लगाउन अटेरी गर्ने र प्रहरीको काममा अवरोध गर्ने एक व्यक्तिलाई प्रहरीले कानुन अनुरूप कारावाही गर्न हिरासतमा राखेको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button