तपाईँ सुन्दै हुनुहुन्छः

अछामका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्दै

अछाम । अछामका विभिन्न पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका रामारोशन, नैनी खप्तड, बैद्यनाथ, पञ्चदेवल विनायक, सुरैँकोट, तितौडा, कमलबजार, जिमराडी कैलाशखोला, ठुलासैन मालिका लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको हो । पछिल्लो समय नयाँ बर्ष मनाउने तथा पर्यटन प्रवर्द्धनका लागि रमाइलो गर्दै पर्यटकीय क्षेत्रमा घुमफिर गर्नेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको हो ।
१२ बण्ड १८ खण्डका नामले परिचित जिल्लाको रामारोशन क्षेत्रमा पनि आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
विभिन्न ताल तलैया, घाँसे मैदान, भीर, वनजंगल तथा जंंगली जनावर, राष्ट्रिय पंक्षि डाँफे लगायतको दृश्यावलोकन गर्न सकिने रामारोशन क्षेत्रमा जिल्ला तथा जिल्ला बाहिरबाट समेत   पर्यटक आगमन बढेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो ।
पछिल्लो समय रामारोशनको ठुलो जिंगाले तालमा डुङ्गामा सवार हुने तथा घोडाको समेत व्यवस्था रहेकाले पर्यटकलाई थप आकर्षण थपेको छ । सयौँ मिटर क्षेत्रफल भएको तालमा डुङ्गामा शयर गर्न पाउँदा उनीहरू निकै खुसी हुने गरेको उपाध्यक्ष रावलको भनाई छ ।
मनमोहक ताल, अग्ला पहाड, विभिन्न रङ्गीबिरङ्गी फुलहरूले पर्यटकहरूको मन आकर्षित हुने हुनाले पनि रामारोशनमा पर्यटकहरूको आवागमन बढिरहेको रामारोशनमा ५ वर्षदेखि गेष्ट हाउस सञ्चालन गरिरहेका सिता गेस्ट हाउसका सञ्चालक इन्द्र बहादुर रोकायाले जानकारी दिनुभयो ।
करिब १ बर्ष देखि कोरोनाको महामारीका कारणले लकडाउन हुँदा पर्यटकीय गन्तव्य रामारोशनको होटल व्यवसाय प्रभावित बन्न पुगेको थियो ।
पर्यटकहरू लाई आकर्षित गर्नका लागी रामारोशन गाउँपालिकाले गत पुस १ गतेदेखि र्याप्टीङ सञ्चालन गरेको थियो ।
नयाँ वर्षको दिन वैशाख १ गते मात्रै रामारोशनमा ३ सय ५० जना भन्दा धेरैले र्याप्टिङ गरेका छन् । रामारोशनमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट नयाँ वर्षको दिनमा मात्रै २५ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन भएको र पछिल्लो ६ महिनाको अवधिमा २ लाख ५० हजार भन्दा धेरै राजस्व सङ्कलन भएको रामारोशन पर्यटन अधिकारी तेज बहादुर रोकायाले जानकारी दिनुभयो ।
सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा पर्न सफल भएको रामारोशन धार्मिक रुपमा समेत परिचित छ । कैलाश खोलाको मुहान रामारोशन जैविक विविधताले भरिपूर्ण रहेको रामारोशन पर्यटन क्षेत्र विकास अभियानमा सक्रिय रूपमा लाग्नुभएका जनक साउदले बताउनुभयो ।
रामारोशन क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्यटक समिति समेत गठन गरी काम गरिरहेको छ । रामारोशन पर्यटन प्रर्वद्धनका लागि गुरु योजना बनाउने काम भइरहेको रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्ष चक्र बहादुर रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button