तपाईँ सुन्दै हुनुहुन्छः

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

सप्तरी । उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सोमवार सम्पन्न भएको छ । विभिन्न विधि अनुसार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी आइतबार साँझ सप्तरी सहित सम्पूर्ण मिथिलाञ्चलमा चैती छठ मनाइएको छ  ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराई मधेशका सप्तरी, सिरहा, सुनसरी, महोत्तरी, धनुषा, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चलभरि धूमधामका साथ मनाइएको छ ।
छठ पर्व सदरमुकाम राजविराजको कल्टु, तुरन्ती, पूर्णिलगायतका जलाशय किनारमा पूजाघाटमा चैती छठ मनाउन व्रतालु र दर्शनार्थी पुगेका थिए । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शुक्रवार व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गर्दछन् ।
त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाइएको थियो । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (विना नुन हालेको) खानेकुरा खाएका थिए । त्यस्तै तेस्रो आइतबार षष्ठीका साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठुलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका आइतबार व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।
अन्तिम दिन भोलि अर्थात् सोमबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
महाभारतका अनुसार द्रोपतीसहित पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेको बताइन्छ । फलस्वरूप अनुसुइयाले अटल सौभाग्य तथा परिप्रेम प्राप्त गरेको र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको तथ्य उल्लेख छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठ पर्व हिन्दूसँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्‍याउनु पर्छ तर चढाउने सामर्थ्य नभएकाले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button