तपाईँ सुन्दै हुनुहुन्छः

‘संक्रमण न्यूनीकरणका लागि समुदाय स्तरमै पहल थाल्नुपर्छ’

काठमाडौँ । बढ्दो कोरोना संक्रमण न्यूनीकरणका लागि समुदाय स्तरमै पहल थाल्नुपर्नेमा सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूले  बताउनुभएको छ ।
सङ्घीय संसद्को कोभिड–१९ सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले शिक्षण अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्ट्याइएका बेड, आइसियु, लगायत अक्सिजन प्लान्ट सीमित रहेकाले समुदाय स्तरबाटै कोरोना रोकथामका उपाय अपनाउनुपर्ने बताउनुभयो ।
बैठकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले पाटन अस्पतालमा पनि १ सय ४२ बेड, १७ भेन्टिलेटर र २१ वटा मात्र आइसियु रहेको जानकारी दिनुहुँदै १ सय २६ कोभिड संक्रमित उपचाररत रहेकोले तत्काल थप सङ्ख्यालाई सेवा दिन अस्पताललाई मुस्किल पर्ने बताउनुभयो ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले कोभिडको संक्रमण फैलिन नदिने गरी कार्ययोजना बनाउनुपर्ने र  पर्याप्त भौतिक संरचना र जनशक्तिको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूले कोरोना संक्रमणदर बढ्दै गए अस्पतालको क्षमता र जनशक्तिले नपुग्ने भन्नुहुँदै बेलैमा सजग र सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button