तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासनद्वारा पालिकालाई दिन तोकेर सेवा प्रवाह गर्ने सूचना जारी

बीरगंज । कोरोनाको कहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले भोलिबाट लागू हुने गरी नगर र गाउँपालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्ने सूचना जारी गरेको छ ।
पर्सामा रहेका १४ वटा पालिकाबाट एकै साथ सेवाग्राहीहरू सेवा लिन आउँदा जिल्ला प्रशासन कार्यालयमा बढी भिडभाड देखिएकोले पालिका अनुसार सेवा प्रवाह गर्ने तालिका आज सार्वजनिक गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीद्वारा आज जारी सूचनामा भिडभाड व्यवस्थापन गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको कुरा उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्म शान्ति सुरक्षा, मुद्दा तथा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू तालिका अनुसार नै प्रवाह हुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट आइतबार र सोमबार कालिकामाई, जगरनाथपुर, ठोरी, पकाहामैनपुर, सखुवाप्रसौनी, छिपहरमाई, जिराभवानी, धोबीनी, पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन् भने मंगलबार र बुधबार पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका र बिन्दबासिनी गाउँपालिकाका बासिन्दालेसेवा लिन सक्नेछन् ।
त्यसै गरी बिहीबार र शुक्रवार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीका लागि छुट्टाइएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button