तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्सामा कृषि उपज भण्डारण केन्द्रको शिलान्यास

बीरगंज । प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आज बारा र पर्साका दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रमका बिच कृषि उपज भण्डारण केन्द्रको शिलान्यास गर्नुभएको छ ।
पर्साको बीरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ डुमरवाना स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७७/०७८ मसान्त भित्रमा निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।
दुवै कृषि उपज भण्डारको कुल लागत ७५ लाख भन्दा बढी रहेको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले किसानको उत्पादनलाई स्थानीय स्तरमा भण्डारण गर्ने साधन नभएर विभिन्न समस्या भइरहेको बेला कृषि उपज भण्डारण केन्द्रको निर्माण शुरु गरिएको बताउनुभयो ।
उहाँले प्रदेश २ मा कृषिमा अग्रणी रहेको र कृषिमा लगानीका लागी सहकारीका माध्यमबाट प्रदेश सरकार अगाडि बढ्न चाहेको बताउँदै कृषकहरूलाई मल बिउँ सिँचाई सँगै यान्त्रीकरणमा आवश्यक अनुदान दिइने समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, राजेश्वर साह, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिव कुमार साह, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल रौनियार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button