तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

काठमाडौँ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
जितको लागि १ सय १० रनको विजयी लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट भए ।
पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो । उनीहरूले लगातार दोस्रो खेलमा शतकीय साझेदारी गरेका हुन् । विजयी चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।
कुशल नेदरल्यान्ड्सँगको खेलमा ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
कुशल भुर्तेल नेपालबाट टि २० आईमा लगातार दोस्रो अर्ध शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले २६ बलमा अर्ध शतक प्रहार गरे । पहिलो खेलमा कुशलले ३० बलमा अर्ध शतक पूरा गरेका थिए । मलेसियाका विरानदीप सिंहले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । नेपालको बलिङ सामु मलेसिया ८ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालका तीव्र गतिका बलर करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल ४ अङ्कका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा २ अङ्कका साथ दोस्रो र मलेसिया पुछारमा छ ।
नेपालले आफ्नो तेस्रो खेल मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्ने छ ।
फोटोः खेलदैनिक.कम

प्रतिक्रिया राख्नुहोस्

Back to top button