तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले बैठक : अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले अध्यक्ष के पी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरूको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।
प्रवक्ता ज्ञवालीले प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा गरिनुका साथै पार्टी एकीकरणको मनसाय सही भए पनि केही गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल भएको निष्कर्ष निकालिएको बताउनुभयो ।
धेरै प्रतिकूलताका बाबजुद पनि तीन वर्षे कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको राजनीतिक प्रतिवेदनको निष्कर्ष रहेको पनि पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले माधव नेपाल, भीम रावल घनश्याम भुषाल, सुरेन्द्र पाण्डे सहित कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसमा संलग्न ४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
प्रवक्ता ज्ञवालीले कुनै पनि बेला निर्वाचनमा जानु पर्ने भएकाले तम्तयार हुन पार्टी पङ्तीलाई आह्वान गरिएको र पार्टीमा विभाजनकारी गतिविधि बन्द गर्न र पार्टी एकतामा आउन असन्तुष्ट पक्षलाई आह्वान गरिएको पनि बताउनुभयो ।
बैठकले पार्टीको सङ्गठनात्मक प्रतिवेदन पास गर्दै जेठ मसान्तभित्र सबै कमिटीलाई पुनर्गठन गरिसक्ने, असारमा सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा–पालिका र जिल्ला तथा असोजमा प्रदेश अधिवेशन गर्ने गरी कार्यपालिका बनाएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
एमाले महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button