तपाईँ सुन्दै हुनुहुन्छः

एन आर एन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घले पुँजीसहित ज्ञान र सीप भित्र्याइ पूर्वाधार लगायतका क्षेत्रको विकास गर्ने उद्देश्यले एन आर एन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा ल्याएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको ५० करोड शेयर लगानीसहित १० अर्ब अधिकृत पुँजी रहेको नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड सञ्चालनमा आएको जानकारी दिइएको हो ।

कार्यक्रममा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गैर आवासीय नेपाली सङ्घलाई विदेशमा छरिएर रहेको पुँजीलाई सङ्गठित गरी नेपालमा भित्र्याउन लगानी दूतका रुपमा कार्य गर्न आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले नेपालको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर आयोजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशबाट आउने लगानी राष्ट्रिय प्राथमिकताको आधारमा हुनुपर्ने, लगानी बैङ्किङ प्रणालीबाट आउनुपर्ने र कालो धन हुन नहुनेतर्फ कम्पनी सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

अर्थ मन्त्री पौडेलले मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुहुँदै लगानी कर्ताका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले उद्देश्यपरक ढङ्गबाट लगानी केन्द्रित हुनुपर्ने र नेपाल डेभलप्मेन्ट फन्डलाई होल्डिङ कम्पनीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

राजस्व सचिव रामशरण पुडासैनीले मुलुकको आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि कम्पनी स्थापना महत्त्वपूर्ण प्रयास रहेको बताउनुभयो ।

फन्डका अध्यक्ष डा. उपेन्द्र महतोले जनताले महसुस गर्ने गरी केही महत्त्वपूर्ण आयोजना तत्काल शुरु गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायतले फन्ड मार्फत नेपालको आर्थिक विकास र लगानी र रोजगारी निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button