तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभावित सहरमा वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गरिने 

file photo

काठमाडौँ । सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न कोभिड–१९ प्रभावित सहरी क्षेत्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्ने सरकारले निर्णय गरेको बताउनुभयो ।
सरकारले होटेल तथा रेस्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने र त्यसपछिको समयमा भने होम डेलिभरी गर्न सक्ने निर्णय गरेको छ ।
विभिन्न कार्यालय, पसलहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्न दिने, सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नचढाउने, मास्क नलगाउने यात्रुलाई चढ्न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनुपर्ने निर्णय पनि गरिएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।
लामो दूरीको यातायातमा बीच बाटोमा यात्रु चढाउन नपाइने र यात्रुको विवरण अनिवार्य रुपमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनुपर्ने मापदण्ड तय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यसैगरी सरकारले फिल्म हल, पार्टी प्यालेस र रङ्गशाला वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, भौतिक रुपमा उपस्थित भएर सभा, सम्मेलन र गोष्ठी गर्न नपाइने, सभा सम्मेलन भर्चुअल माध्यमबाट गर्ने मापदण्ड पनि तोकिएको छ ।
यसैगरी मेला महोत्सव, जात्रा पर्व, पास्नी व्रतबन्ध, मलामी, अनुष्ठान क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाइने पनि सरकारले निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button