तपाईँ सुन्दै हुनुहुन्छः

शक्तिपीठमा दूरी कायमसहित दर्शन गराइँदै

काठमाडौं ।चैत्र शुक्ल अष्टमीमा मनाइने चैते दशैँका अवसरमा उपत्यकाका शक्तिपीठमा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराइएको छ ।

कोरोना जोखिम नभएको बेलाजस्तो भक्तजन मन्दिरमा गएका छैनन् । गएका भक्तजन पनि मास्क लगाइ भौतिक दूरी कायम गरेर दर्शन गर्ने बित्तिकै फर्कने गरेका छन् । उपत्यकाको प्रमुख शक्तिपीठ गुह्येश्वरीमा दुई वर्षअघिको चैते दशैँमा जस्तो भक्तजनको भीड नलागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले राससलाई जानकारी दिनुभयो । गत वर्षको चैते दशैँमा भने कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले भक्तजनलाई दर्शन गर्न दिइएको थिएन । नित्यपूजा, बलिपूजा, कालरात्रिपूजालगायत विधि भने गत वर्ष पनि पूरा गरिएको थियो ।

आएका भक्तजनलाई दूरी कायम गरी सहजरुपमा दर्शन गराएर फर्काइएको उहाँले सुनाउनुभयो । चैत्र शुक्ल अष्टमीका अवसरमा गरिने पूजा विधि भने मन्दिरमा पूरा गरिएको छ । बेलुकी गुठी संस्थानले कालरात्रि पूजासहित पञ्चबलि दिएर तान्त्रिक विधि पूरा गर्ने समितिले जनाइएको छ । यसको व्यवस्थापन संस्थानले नै गर्ने गरेको छ ।

उपत्यकाको पनि मुख्य शहर बाहिरका ग्रामीण भेगमा रहेका शक्तिपीठमा भने बढी भक्तजन दर्शनका लागि गएका छन् । गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिृय निकुञ्ज क्षेत्रमा रहेको सुन्दरीमाई मन्दिरमा भने विगत वर्षमा जस्तै भक्तजन गएका छन् । अलि टाढाबाट आउने भक्तजन नआएपनि नजिकका प्राय ः भक्तजन चैत्र शुक्ल पक्षको नवरात्रमा मन्दिर दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका सदस्य सुशील सिम्खडाले जानकारी दिनुभयो । रमणीय स्थलमा भएको मन्दिर भएकाले पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–५ मै रहेको चामुण्डा मन्दिरमा पनि भक्तजनले भौतिक दूरी कायम गरेर दर्शन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर नगरक्षेत्र र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा गरिन्छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड बमोजिम रथयात्रा चलाउन आज बिहान मन्दिर व्यवस्थापन समिति, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धले बैठक गरी दिउँसो एक बजेदेखि रथयात्रा चलाउने निर्णय गरेको वडा अध्यक्ष नारायणबहादुर सुवेदीले राससलाई जानकारी दिनुभयो । रथयात्रामा दूरी कायम गराउन प्रहरी र स्वयंसेवकसमेत परिचालन गरिने छ ।

शङ्खरापुर नगरपालिकामा रहेको बज्रयोगिनी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराइएको छ । यसैगरी उपत्यकाका जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, कङ्केश्वरी, बिजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भाटभटेनीलगायत शक्तिपीठमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराइएको छ । यी शक्तिपीठमा गुठी संस्थानलगायत सरकारी निकायबाट हुने बलिसहित पूजा जारी रहने जानकारी गराइए पनि भक्तजनले भने बलिसहित पूजा गरेका छैनन् ।

उपत्यकाबाहिरका मुख्य शक्तिपीठमा पनि चैते दशैँका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ । सरकारले सोमबार मन्दिरलगायत सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भीडभाड नगर्ने गरी मापदण्ड जारी गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button