तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी : १९८ जना जनशक्ति खटिँदै

जुम्ला । १२ औं राष्ट्रिय जनगणना २०७८ मा सही तथ्याङ्क सकंलन गर्नुपर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका छन् । जुम्ला सदरमुकाम खलङ्गामा सोमबार आयोजित राष्ट्रिय जनगणना २०७८ को तयारी गोष्ठीमा सहभागीहरूले कोही नछुट्ने र कोही नदोहोरिने गरी २०७८ को जनगणनाबाट सबैले विश्वास गर्ने भरपर्दो तथ्याङ्क सङ्कलन हुनुपर्नेमा जोड दिएका हुन् ।
नेकपा एमालेका पार्टी सचिव आदी प्रसाद न्यौपानेले विगतका गणनाबाट सही तथ्याङ्क नआउँदा विकास निर्माणमा बाधा पुगेको भन्दै अबको तथ्याङ्क यर्थाथ र विश्वसनीय हुनुपर्ने बताउनुभयो । उहाँले गणक सम्बन्धित घरमै नपुगी केही व्यक्तिबाटै गाउँकै तथ्याङ्क ल्याउने समस्या भएकोले गणक सबैको घरमा पुगे नपुगेको थाहा पाउने संयन्त्र बनाउनुपर्नेमा समेत जोड दिनुभयो । साथै जिल्ला,पालिका र वडा स्तरमा जनगणनाबारे सचेतना मूलक कार्यक्रमलाई व्यापकता दिन समेत आग्रह गर्नुभयो ।
त्यस्तै पत्रकार नवराज शाहीले पनि गरिब परिचय पत्र वितरण जस्तो तथ्याङ्क नभई जनसङ्ख्या, भाषाभाषी, धर्म जातजाति, व्यवसाय, कृषि सबै क्षेत्रको तथ्यपरक तथ्याङ्क सङ्कलनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा जनगणना अधिकृत शंकरदत्त भट्टले जनगणनाको आवश्यकता महत्त्व, विशेषता र उद्देश्य बारे जानकारी गराउनुभएको थियो । नेपालमा १२ औ र सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न पत्रकार, नागरिक समाज, राजनीतिक दल, कर्मचारी र स्थानीय नागरिकलाई सहयोग गर्न अपिल गर्नुभयो ।
जुम्लामा वैशाख १६ गते देखि एक हप्ता सुपरभाइजर गणकलाई तालिम सञ्चालन हुने छ । भने, वैशाख २६ गतेदेखि जेठको १४ गते सम्म पहिलो चरणको जनगणना शुरु हुने जनगणना अधिकृत भट्टले  जानकारी दिनुभयो ।
साथै, २०७८ को जनगणनाबाट देशमा ७० लाख घरधुरी र ३ करोड जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । भने, जुम्लामा हाल १ लाख ९ हजार जनसङ्ख्या रहेका २०७८ को गणनामा १ लाख २० हजार पुग्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा  घरधुरी विवरण, पारिवारिक विवरण, कृषि,पशु चौपाया, ऋण, जनता आवास तथा भूकम्प प्रतिरोधी घरको अवस्थाका बारेमा विवरण सङ्कलन गरिने छ । भने, गणक घरघरमा पुगे नपुगेको थाहा पाउन घर नम्बर समेत टाँसिने भएको छ ।
कुन जातजाति भाषाभाषी धर्म मान्ने मानिसको विवरणका साथै उनीहरूको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्था के छ ? र देशको कुल जनसङ्ख्या कति रहेछ भन्ने कुरा पाउन हरेक १० वर्षमा जनगणना आवश्यक रहेको सहायक जनगणना अधिकृत रत्नचन्द्र गौतमले बताउनुभयो ।
उहाँले सरकारको नीति कार्यक्रम तथा बजेट ल्याउन, निर्वाचन क्षेत्र निर्धारण गर्न, सङ्घ र प्रदेश सभा सदस्यको सदस्यको सङ्ख्या यकिन गर्न, तीनै तहको बजेट निर्माण गर्न, विपन्न नागरिकको पहिचान गर्न, राष्ट्रिय अन्तर्राष्ट्रिय विकास लक्ष्य मापन गर्न पनि जनगणना अत्यावश्यक विषय रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार जुम्लामा जनगणनाका लागि ४१ जना सुपरभाइजर र १ सय ५७ जना गरी १ सय ९८ जना जनशक्ति गणनामा खटिने भएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले सङ्घीयतापछि पहिलो जनगणना २०७८ लाई सफल पार्न सबै जिम्मेवार हुन आग्रह गर्नुभयो । सही तथ्याङ्क सङ्कलनमा कुनै कन्जुसाई नगरी जेठ असारको कामको सिजनलाई मध्यनजर गर्दै जनगणना गर्नुपर्नेमा जोड दिनुभयो ।
जनगणना समन्वय समितिका अध्यक्ष तथा प्रजिअ भुपेन्द्र थापाले देशको नीति निर्माण, बजेट निर्माण, योजना निर्माण तथा सम्पुर्ण सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनगणना आवश्यक रहेकाले सही तथ्याङ्क सङ्कलन सबैको प्राथमिकता रहेको  बताउनुभयो ।
तथ्याङ्क लिने र सूचना दिने दुवै पक्षले आफ्नो कर्तव्य पुरा गरेको खण्डमा गलत तथ्याङ्क नआउने उहाँको विश्वास छ ।  राष्ट्र निर्माणको मार्ग नै जनगणना हो । जेठ असार कामको सिजन हुने भएकोले बिहान बेलुका अनुकूल समयमा तथ्याङ्क लिने प्रबन्ध मिलाउनु पर्ने प्रजिअ थापाले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button