तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा विना मास्क हिँड्नेलाई जरिवाना

जनकपुरधाम । धनुषा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै जिल्लामा विना मास्क घर बाहिर निस्कनेलाई आर्थिक रुपमा जरिवाना गर्ने निर्णय भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले मास्क लगाउनका लागि दुई दिनसम्म प्रचार प्रसार गर्ने, मास्क लगाउनका लागि सुरक्षाकर्मीले अनुरोध गर्ने र १० गतेबाट नलगाएको पाइएको खण्डमा १ सय जरिवाना गरी मास्क उपलब्ध गराउने निर्णय भएको छ ।
यसका साथै गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई निःशुल्क मास्क वितरणका लागि विभिन्न सङ्घ संस्थाहरूलाई आव्हान गर्ने निर्णय बैठकले गरेको छ । कोरोनाबाट जोगिनका लागि मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गर्ने, भिडभाडलाई निषेध गर्ने, विवाह, व्रतबन्ध सहितका अन्य संस्कारहरूमा २५ जना भन्दा बढी मान्छे सहभागी हुन नदिने निर्णय बैठकले गरेको छ ।
यसै गरी विभिन्न पालिकाहरूले चाँडो प्रक्रिया मार्फत आइसोलेसन सेन्टरको निर्माण गर्ने निर्णय भएको छ । जस अनुसार गाउँपालिकाले १५ बेड, नगरपालिकाले २० बेड तथा उपमहानगरपालिकाले ३० बेड भएको आइसोलेसन सेन्टरको निर्माण गर्ने, यसै गरी पालिकाहरूमा क्वारेनटाइन व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यसै गरी हाट बजारलाई व्यवस्थित गर्नका लागि बिहान ६ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म बजार खुल्ला गर्ने तर स्वास्थ्य सुरक्षा सावधानी सहित सञ्चालन गर्ने र यसको व्यवस्थापन जनकपुरधाम उद्योग वाणिज्य सङ्घले गर्ने निर्णय भएको छ ।
सिमाना क्षेत्रमा थप कडाइ गर्दै भारतबाट नेपाल आउनेको एन्टीजेन परीक्षणका लागि किट सहितको हेल्प डेक्सहरु सिमाना नाकामा स्थापना गर्ने, विद्यालयहरूमा जारी रहेको परीक्षाहरू शनिवारसम्म सञ्चालन गरेर आइतबारबाट पूर्ण रुपमा नै बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष बन्धु प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
यसै गरी बढी भिडभाड हुने सरकारी कार्यालयहरूमा आलोपालो गरेर सेवा प्रवाह गर्ने, कार्यालय प्रवेश विन्दुमा नै मास्क अनिवार्य गर्ने, धनुषा जिल्लाका एम्बुलेन्स, शव वाहनलाई तयारी अवस्थामा राख्ने, सार्वजनिक सवारी साधनमा विना मास्क चढ्न नदिने सरकारको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
बैठकमा सुरक्षा समितिका अधिकारीहरू, नेपाल रेडक्रस सोसाइटी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू एवं प्रतिनिधिहरू, प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशाला, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा तथा विकास समन्वय इकाईका प्रमुखहरूको पनि सहभागिता रहेका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button